काठमाडौं। डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता विवादमा जगदम्बा स्टिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक र त्रिवेणी स्पिनिङ मिल्सले धरौटीका रूपमा पहिलो किस्ता बुझाएका छन् । बुधबार यी उद्योगले कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता बराबरको रकम बुझाएको नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।
जगदम्बा स्टिल्सले ५ करोड ७२ लाख, घोराहीले १ करोड ८१ लाख, अर्घाखाँचीले १ करोड ६० लाख, जगदम्बा सिन्थेटिकले ७३ लाख २२ हजार रुपैयाँ र त्रिवेणीले १ करोड १४ लाख रुपैयाँ तिरेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले बक्यौता नबुझाएको भन्दै ४ र ७ कात्तिकमा २३ उद्योगको बिजुली काटेको थियो । प्राधिकरणले पहिलो किस्ता भनेको छ भने उद्योगीले धरौटीका रूपमा बुझाएको जनाएका छन । उक्त रकम तिरेसँगै विद्युत् विच्छेद गरिएका उद्योगहरूमा लाइन जोडिएको छ ।
तिहारयता भलवारी स्वचालित चामल उद्योग, पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, श्याम प्लास्टिक, सिद्धार्थ पेट प्लास्ट, घराना फुड्स, गोयन्का फुड्स, रिलायन्स स्पिनिङ मिल्स, त्रिवेणी सिन्थेटिक, जगदम्बा स्टिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक र त्रिवेणी स्पिनिङ मिल्स, सोनापुर मिनरल्स एन्ड आयललगायत उद्योगले रकम जम्मा गरेकाले लाइन जोडिएको प्राधिकरणले जनाएको छ । उद्योगहरूले रकम बुझाएसँगै विच्छेद गरिएको लाइन जोडिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले पुष्टि गरे । ‘पहिलो किस्ता तिरेसँगै सबै उद्योगमा लाइन जोडिएको छ,’ उनले भने ।
यही १७ कात्तिकमा प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, मुख्यसचिव एकनारायण अर्याललगायत नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालबीच डेडिकेटेड र ट्रंकलाइनको महसुल भुक्तानीलाई सरलीकरण गर्ने तथा पुनरावलोकन सुन्ने व्यवस्था मिलाउन सहमति भएको थियो । उक्त छलफलमा उद्योगीहरूले प्राधिकरणले दिएको २८ किस्तामध्ये पहिलो किस्ता बराबरको रकमलाई ‘किस्ता’ नभई ‘विवादित रकम’ मानेर धरौटीका रूपमा बुझाउने, विद्युत् लाइन तुरुन्त जडान गरिने र त्यसपछि पुनरावलोकन, पुनरावेदन तथा न्यायिक प्रक्रियाबाट अघि बढ्ने मौखिक सहमति भएको बताइएको थियो ।