रोल्वालिङ क्षेत्रमा आएको हिमपहिरोमा परी ३ जनाको मृत्यु र ४ जना वेपत्ता (नामावलीसहित)

रोल्वालिङ क्षेत्रमा आएको हिमपहिरोमा परी ३ जनाको मृत्यु र ४ जना वेपत्ता (नामावलीसहित)

दोलखा। दोलखाको रोल्वालिङ क्षेत्रमा आएको हिमपहिरोमा परी ३ जनाको मृत्यु र ४ जना वेपत्ता भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार यलुङ री हिपहिरोमा परेर एक विदेशी र २ नेपाली गरी ३ जनाको मृत्यु भएको हो भने ४ जना वेपत्ता भएका छन्।

दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) ज्ञान कुमार महतोका अनुसार घटनास्थलमा एक विदेशी र २ नेपालीको शव फेला परेको हो।

हिमपहिरोमा परी दोलखाको गौरीशंकर गाउँपालिका-९ सिमिगाउँका पदम तामाङ र सोलुखुम्बु घर भएका मेरे कार्कीको मृत्यु भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेले पुष्टि गरेका छन्।

उनीहरु टुरिष्ट गाइड र सहयोगीका रुपमा विदेशी पर्यटकसँगै गएका थिए। हिमपहिरोमा परी एक विदेशीको मृत्यु भएको छ भने ४ जना वेपत्ता भएका छन्। स्थानीय प्रशासनका अनुसार वेपत्ता रहेका विदेशी नागरिकमा इटालियन नागरिक Paolo Cocco र Markus Kircehler, क्यानेडियन नागरिक Marco di Marcello, फ्रान्सका Manfredi Christian Andre र जर्मनीका आरोही Jakob Schreiber रहेका छन्।

ती मध्य एक जनाको शव फेला परेपनि कसको हो भन्ने पुष्टि भएको छैन। बेपत्ता ४ जनाको खोजी कार्य जारी रहेपनि अझै शव फेला पार्न नसकेको स्थानीय प्रशासनले जनाएको छ।

यसैबीच, दोलखाको रोल्वालिङ क्षेत्रमा हिमपहिरोमा परेका ८ जनाको उद्धार गरिएको छ। हिमपहिरोमा परी घाइते भएका ८ जनालाई उद्धार गरेर काठमाडौं ल्याइएको हो। ३ विदेशी र ५ नेपाली गरी ८ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ। हिमपहिरोमा परी घाइते भएका विदेशी पर्यटकहरु Carole Fuchs, Dididr Armand Betior र Thaon Isabelle Solange को उद्धार गरिएको छ। उनीहरु तीनै जना फ्रान्सका नागरिक हुन्।

विदेशी पर्यटकहरुसँगै टुरिष्ट गाइड र सहयोगीका रुपमा गएका दोलखाको गौरीशंक-९ वेदिङका निमा गेज्लेन शेर्पा, सोलुखुम्बुका लाक्पा तामाङ, स्याङ्जाका राजु गुरुङ, बारा घर भई काठमाडौँ बस्ने छुल्ठिम डोल्मा गुरुङ र गोरखाका सुन बहादुर गुरुङलाई पनि उद्धार गरिएको हो। ठूलो हिमपहिरो आएका कारण वेस क्याम्पमा टेन्ट टाँगेर बसेका विदेशी र नेपालीहरु एकैसाथ पुरिएका थिए।

आरोहण दलको नेतृत्व गरेका ड्रिमर्स डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीका फाउण्डर एवम् म्यानेजिङ डाइरेक्टर तथा विश्व विख्यात आरोही फुर्वा तेन्जिङ शेर्पाको टोली अहिले पनि ना गाउँमा रहेको छ।

१५ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तिमान बनाएका शेर्पाको टोलीले वेपत्ताहरुको खोजी कार्य जारी राखेको छ। खोजी कार्य जारी रहेको र वेपत्ताहरुको जिवितै भेटिने सम्भावना कम रहेको उद्धारमा खटिएका शेर्पाले जानकारी दिएका छन्।