काठमाडौं। उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न भनी जारी गरेको आदेश खारेज गरेको छ।
न्यायाधीशहरू डालकुमार खड्का र दीपक खनालको इजलासले नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको रिट निवेदन खारेज गरेको हो। निवेदन खारेज भएसँगै राजुलाई निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृतको निर्णय कार्यान्वयनमा रोक लगाउने अन्तरिम आदेश समेत निस्तेज बनेको हो।
काठमाडौं महानगरपालिकाका मेयर बालेनले अनियमितताको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न दिएका थिएनन्। गुरागाईंको साटो अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन बालेनले गरेको आग्रहलाई तत्कालीन सरकारले अस्वीकार गर्दै आएको थियो।
उपमेयर सुनिता डंगोल र अरु वडाध्यक्षहरुको सहयोगमा गुरागाईं आफ्नो कार्यकक्षमा पुगेका थिए। त्यसक्रममा नगर प्रहरी बल र गुरागाईं पक्षधरबीच घम्साघम्सी भएको थियो।
आफ्नो कार्यकक्षमा पुगेर काम थालेपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पदीय आचरण विपरीत काम गरेको भनी नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरेका थिए ।
आफूलाई गैरकानूनी रुपमा निलम्बन गरेको भनी पाण्डेले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए । त्यही निवेदनमा उच्च अदालतले अन्तरिम आदेश दिएपछि उनी काममा फर्किएका थिए ।