काठमाडौं। ‘जेन-जी’ आन्दोलनपछि नेपालको राजनीतिमा पुराना पुस्तालाई नेतृत्वबाट बिदा गर्नुपर्ने आवाज उठ्यो। मूलतः नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र)को वर्तमान नेतृत्व फेर्नुपर्ने आवाज पार्टीभित्रै र बाहिर पनि व्यापक उठ्यो।
आन्दोलनकै क्रममा प्रदर्शनकारीबाट कुटाइसमेत खाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा लगभग सक्रिय राजनीतिबाट अलग्गिएका छन्। उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको महाधिवेशन घोषणा गर्दै महाधिवेशन आयोजक समितिको संयोजक बनेर चलाखीपूर्ण निर्णय गरेका छन्। तर, आगामी मंसिर अन्तिममा महाधिवेशन गर्ने भनेको माओवादीले तयारी भने अगाडि बढाएको छैन । अब हुने महाधिवेशनबाट पनि प्रचण्ड माओवादी केन्द्रको नेतृत्वबाट बिदा लिने अवस्था अहिलेसम्म चाहिँ देखिएको छैन।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भने नेतृत्व नछोड्ने स्पष्ट अडान राखिसकेका छन्। फेरि महाधिवेशन गरेर तेस्रोपटक नेतृत्वमा आउने ओलीको स्पष्ट अडान छ। एमालेले मंसिरको २७ गतेदेखि पोखरामा महाधिवेशनको मिति तय गरेको छ।
एमालेले ‘जेन-जी’ आन्दोलनमा जलेको पार्टीको मुख्यालय परिसरमा पाल टाँगेर कामकाज सुरु गरिसकेको छ। ‘जेन-जी’ आन्दोलनको क्रममा भदौ २४ गते च्यासलस्थित एमाले मुख्यालयमा तोडफोडसँगै आगजनी भएको थियो।
पालबाटै महाधिवेशन र अरू नियमित काम सुरु गरेको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। ‘अहिले कोसी सम्पर्क कार्यालयनजिकै पाल टाँगेर कार्यालय सुरु गरेका छौं, यहीँबाट महाधिवेशनसँग सम्बन्धित कामहरू पनि हुनेछन्,’ उनले भने।
यता, नेपाली कांग्रेसमा भने नियमित महाधिवेशन कि विशेष? भन्ने विषयमै सहमति हुन सकेको छैन। कांग्रेसमा पार्टीभित्र मंसिरमा महाधिवेशन गर्नैपर्ने र गर्न नसकिने पक्षको टसल देखिएको छ।
महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता डा. शेखर कोइरालाले कुनै पनि हालतमा १५औँ महाधिवेशन मंसिरभित्रै गर्नुपर्ने अडान लिँदै आएका छन्। मंसिरभित्र महाधिवेशन नगर्ने हिसाबले नै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समितिको बैठक २ कात्तिकबाट एकैपटक १३ कात्तिकमा बस्नेगरी सारेका छन्।
माओवादीमा पनि विशेष महाधिवेशन गर्ने कि एकता महाधिवेशन गर्ने विषयमा अलमल छ । माओवादीले नेकपा एकीकृत समाजवादीसहितका दलहरूसँग एकता गर्ने तयारी गरेको छ। यसैकारण माओवादी केन्द्रको सचिवालय बैठक प्रभावित भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने निर्णय गरेको छ। आइतबार पार्टी कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले रास्वपा लोकतान्त्रिक पार्टी भएकाले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्ने र यससम्बन्धी गतिविधिलाई तीव्रता दिने निर्णय गरेको रास्वपा नेता गणेश पराजुलीले जानकारी दिए।
एमालेको प्रतिनिधि चयनबारे सचिवालयले निर्णय गर्ने
मंसिर अन्तिम साता महाधिवेशन गर्ने तयारीमा जुटेको एमालेमा पार्टी सदस्यता संख्या ६ लाख ६३ हजार कायम भएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संगठन विभागले अपडेट गरेको यही पार्टी सदस्यहरूबाट महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् ।
‘महाधिवेशन प्रक्रियामा सामेल हुने पार्टी सदस्य संख्या कायम भएको छ । अब बाँकी निर्णय सचिवालय बैठकले गर्छ’, उनले भने। आगामी साता सचिवालय बैठक बस्ने तयारी भइरहेको पनि गौतमले बताए। ‘प्रतिनिधि छनोटलगायत महाधिवेशनको तयारीहरू सचिवालय बैठकले निर्णय गर्छ’, गौतमले भने।
केन्द्रीय समिति बैठकले नियमित महाधिवेशनबारे निर्णय लिन्छ : खड्का
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन प्रस्तावलाई नियमित महाधिवेशनको सीमाभित्र जोडेर बृहत् एकताका साथ पार्टी अघि बढ्ने बताएका छन्।
नेपाल तरुण दलको स्थापना दिवसमा केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन प्रस्तावलाई पनि नियमित महाधिवेशनको सीमाभित्र जोडेर सम्पूर्ण एकताका साथ अघि बढ्ने बताएका हुन्।
कांग्रेसको २०७८ सालमा भएको १४औँ महाधिवेशनमा रहेका चार हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये दुई हजार ४८८ जनाले गत असोज २९ गते विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए। खड्काले केन्द्रीय समिति बैठक जारी रहेकाले महाधिवेशनलगायत सबै विषयमा निर्णय गरेर जाने बताए।
‘पार्टीको विधानअनुसार हामीले नियमित महाधिवेशन गर्छौं । विशेष महाधिवेशनको प्रस्तावलाई पनि नियमित महाधिवेशनको सीमाभित्र जोडेर हामी चालु केन्द्रीय समिति बैठकबाट एकताबद्ध रूपमा निर्णय गछौँ’, खड्काले भने, ‘चालु केन्द्रीय समितिले पार्टीभित्रका आन्तरिक समस्या एकताबद्ध भएर घोषित निर्वाचन, पार्टी महाधिवेशन, भ्रातृ संस्थाका चालु अधिवेशनबारे निर्णय गर्छौं ।पार्टीलाई खरानीको जगबाट उठाएर प्रतिकूलतालाई अनुकूलतामा बदल्न निर्णय गर्छौं।’
केन्द्रीय समितिबाट जे निर्णय भए पनि सर्वसम्मत निर्णय हुने खड्काले बताए। खड्काले पार्टी सभापति शेरबहादुर देउवामाथि गत भदौ २४ गते ‘जेन-जी’ आन्दोलनका क्रममा प्राण लिने उद्देश्यले सांघातिक आक्रमण भएको बताए।
यही हप्ताभित्र समाजवादी मोर्चाभित्रका दलबीच एकता हुने वा नहुने निष्कर्ष आउँछ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन्।
सोमबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले पछिल्लो समय देशमा उत्पन्न परिस्थितिलाई सहज बनाउन पनि निर्वाचनको विकल्प नभएको बताएका हुन्। संयोजक प्रचण्डले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइएको बताए।
‘चुनाव हुन्छ वा हुँदैन भन्ने होइन । चुनावको विकल्प छैन । त्यसैले पार्टी यसको तयारीमा लागिसकेको छ’, उनले भने, ‘मैले नेपाली कांग्रेसलगायत दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा कुराकानी गरिरहेको छु । चुनावको वातावरण बनाउन हामी सबै लागौँ । सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु ।’
समाजवादी मोर्चामा रहेका पार्टीहरूसँग एकताका लागि छलफल सकारात्मक भएको उनको भनाइ थियो । ‘यही हप्ताभित्र मोर्चाभित्र रहेका दलबीच एकता हुने वा नहुने निष्कर्ष आउँछ । यसबाहेक मधेसवादीसहितका दल र माओवादी मिलेर निर्वाचनमा जाने सम्भावना पनि छ’, प्रचण्डले भने।
हिमालय टाइम्स दैनिकबाट