नयाँ स्वास्थ्य मन्त्रीको पदबहाली: ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने निर्णय

नयाँ स्वास्थ्य मन्त्रीको पदबहाली:  ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने निर्णय

काठमाडौं। नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन्। पदभार ग्रहण गर्दै उनले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई मनोपरामर्श सेवा प्रदान गर्ने पहिलो निर्णय गरेको बताएकी छन्।

सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री डा शर्माले खरिद प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउने र भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता जनाइन्। उनले भनिन्, “जेनजी प्रदर्शन भ्रष्टाचारको अन्त्य र सुशासनका लागि भएको थियो। त्यसैले कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्।”

मन्त्री डा शर्माले देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखेको बताइन्।

उनले जेनजी आन्दोलनमा सहिद भएका परिवारका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्नका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर बजेटको व्यवस्था र अन्य प्रक्रिया अगाडि बढाइने बताइन्। मन्त्री डा शर्माले वर्तमान सरकार नागरिक सरकार भएकाले यसको मूल्यांकन कामबाट मात्र हुने धारणा राखिन्।

उनले पारिश्रमिकको विषयलाई लिएर आन्दोलनरत नर्सका समस्या समाधानका लागि पहल थाल्ने बताइन्।

स्वास्थ्य सचिवको रूपमा काम गरिसक्नुभएका नवनियक्त स्वास्थ्यमन्त्री डा शर्मा प्रसूति तथा स्त्री रोग विशेषज्ञका साथै जनस्वास्थ्यविद् पनि हुन्।