काठमाडौं। गत भदौ चौथो साता भएको ‘जेन-जी’ आन्दोलनपछि एकाएक रक्षात्मक बनेका राजनीतिक दलहरू विस्तारै परिवर्तित परिस्थितिमा हावी हुन प्रयास सुरु गरेका छन् ।
‘जेन-जी’ आन्दोलनपछि केही समय शून्य प्रायः राजनीतिक गतिविधिमा सीमित रहेका दलहरू पछिल्ला दिनहरूमा ‘जेन-जी’ आन्दोलनमाथि हावी हुनेगरी अगाडि सरेका हुन् । वर्तमान परिस्थितिमाथि हावी हुन ‘जेन-जी’ आन्दोलनकै कारण सत्ताबाट बाहिरिएको नेकपा एमाले अग्रस्थानमा देखिएको छ ।
राजनीतिक अवस्था विस्तारै सामान्य बन्न थालेपछि नेकपा एमाले ‘जेन-जी’सँग भिड्ने मुडमा देखिएको हो । ‘जेन-जी’का केही प्रतिनिधिले एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न सरकारमाथि दबाब बढाएपछि नेकपा एमाले प्रतिवादमा उत्रिन थालेको छ ।
पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग लिएर ‘जेन-जी’को एउटा समूह उग्र बनेपछि त्यसको प्रतिवादमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु फ्रन्टलाइनमा उत्रेको छ ।
अनेरास्ववियुले ‘जेन-जी’ आन्दोलनका भित्री योजनाकार काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र सडक प्रदर्शनमा अग्रभागमा देखिने हामी नेपालका सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी लिएर गएको छ । अनेरास्ववियुले बालेन र गुरुङविरुद्ध देशभरका प्रहरी कार्यालयमा पनि उजुरी दिने निर्णय गरेको छ । ‘जेन-जी’हरूले तत्कालीन सत्ता प्रमुखलाई एरेस्ट गर्न अभियान चलाएपछि एमाले कार्यकर्ता त्यसको काउण्टरमा उत्रिएका छन् ।
केहीले सामाजिक सञ्जालबाटै बालेन र सुदन गुरुङलाई पनि पक्राउ गर्ने अभियान चलाएका छन् । ‘जेन-जी’को एउटा समूहका संयोजक सुदन गुरुङ भदौ २३ गते ‘जेन-जी’ आन्दोलनका क्रममा दमन गर्ने तत्कालीन सरकार प्रमुख र गृहमन्त्री लेखकविरुद्ध उजुरी गर्न आफैँ प्रहरी कार्यालय धाएको धायै गरेका छन् ।
एमाले कार्यकर्ताले पनि त्यही शैली अपनाउन थालेका छन् । सुदन गुरुङ नेतृत्वको समूहले ओली र लेखक विरुद्धको जाहेरी लिन दबाब दिएपछि काठमाडौं प्रहरी परिसरले जाहेरी लिएर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइदिएको छ । एकातिर सरकारले बनाएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले काम गरिरहेको छ । यही बेलामा दुवै समूह नामै तोकेर एक-अर्काविरुद्ध उजुरी दिन लागेका छन् ।
पछिल्ला यी घटनाले ‘जेन-जी’ र एमालेबीच यसअघि सामाजिक सञ्जालमा मात्र देखिएको एक-अर्काविरुद्धको आरोप प्रत्यारोप अब विभिन्न मुद्दा र सडक प्रदर्शनमा समेत प्रकट हुने संकेत देखिएको छ । यसको सन्देश एमाले नेता महेश बस्नेतले पार्टी कार्यालय च्यासलबाट बुधबार प्रष्टरूपमा दिनुभएको छ ।
बस्नेतले ‘जेन-जी’ बदनाम भइसकेको भन्दै एमालेले डिजिटल फोर्ससमेत गठन गर्ने उद्घोष गर्नुभएको छ । खासमा बस्नेत आफैँ प्रहरीको अनुसन्धानमा रहेका व्यक्ति हुन् । बुधबार मात्रै पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा एक साइबर अपराध सम्बन्धीको कसुरमा उनले बयान दिएका छन् । त्यहाँ बयान सकेपछि युवा संघले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेत सहभागी भएर ‘जेन-जी’ आन्दोलनको चिरफार गर्ने प्रयास गरेका छन् ।
पूर्वमन्त्रीसमेत रहनुभएका नेता महेश बस्नेतले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बस्नेतले हिम्मत भए पक्राउ गर्न चुनौती दिँदै भने, ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर । तिम्रो बाउको हिम्मत छ भन्ने शब्द नराम्रो हो त ? केपी ओली दोषी हुनुहुन्छ र तिम्रो बाउको हिम्मत छ भने पक्राउ गरेर देखाऊ ।’ दलका नेताहरूमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु गरिएको विषयमा पनि आक्रोशित बस्नेतले भन्नुभयो, ‘हामी एकदमै ओभानो पनि छैनौँ । हामी दूधले नुहाएको भनेका पनि छैनौँ । यति त भन्न पाइयो नि त । महेश बस्नेत भ्रष्टाचारी हो भने कारबाही गर । होइन भने त भ्रष्टाचारी हो भनेर आरोप लगाउन पाइन्छ त ?’
अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङको सम्पत्ति छानविन किन नगर्ने ? भन्दै बस्नेतले प्रश्नसमेत गरेका छन् । नेता बस्नेतले वास्तविक जेन-जीका मुद्दा अपहरण भएको पनि टिप्पणी गरेका छन् । भ्रष्टाचारको विपक्षमा र सुशासनको पक्षमा भए पनि जेन–जी आन्दोलनमा आतंकवादी गतिविधि देखिएको र आन्दोलनका मुद्दा अपहरण भएको टिप्पणी गर्दै बस्नेतले भने, ‘मानिसहरूले के आँकलन गरिरहेका छन् भने विभिन्न अन्तर्राष्ट्रिय शक्तिका एजेण्टहरू अवैधानिक रूपमा हाम्रो राज्य संयन्त्र कब्जा गर्न खोज्दै छन् । त्यो पात्रको रूपमा सुदन गुरुङजस्ता मानिसलाई एम्बुस बनाएर पड्काउन खोजिँदै छ । सुदन गुरुङ बालेनको योजनामा केपी ओली, रमेश लेखक, महेश बस्नेतलाई गिरफ्तार गर्नुपर्छ भनेर मिडिया ट्रायल गर्छन् र डेलिगेसन जान्छन् ।’
‘जेन-जी’ समूहका सुदन गुरुङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी दर्ता अभियानको नेतृत्व गरिरहनुभएका नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका महासचिव दीपक धामीले समाजलाई अराजकताबाट मुक्त गर्नको लागि आफूहरू सडकमा आउने चेतावनी दिएका छन् । अमुक व्यक्तिले सरकारलाई निर्देशन दिन थालेपछि आफूहरू सडकमा आउन बाध्य भएको जिकिर गर्दै उनले भने, ‘अराजकतालाई मुक्त गर्नुपर्छ भनेर हामी सडकमा आएका छौँ । हामी आउँछौँ सडकमा, हामी मर्न कफन बाँधेर हिँडेका मान्छे हौँ । समाज र देशको लागि मर्न तयार छौँ । यो देशमा आगो लगाएर खरानी बनाउनेहरू छाती फुलाएर हिँड्ने ? निर्दोष रहेकाहरू कुनामा लुकेर बस्नुपर्ने हुँदैन ।’
हिमालय टाइम्स दैनिकबाट