काठमाडौं । जेनजी आन्दोलनपछि राजनीतिक दलको नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको दबाब बढिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको अस्त्र फालेका छन् ।
नेतृत्व छाड्न उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मालगायतका नेताले दबाब वढाएपछि उनले एकताको अस्त्र फालेर नेतृत्वमै रहने नयाँ जुक्ति निकालेका छन् ।
जेनजी विद्रोहले राजनीतिक अवस्था बदलिएसँगै सेलाएको एकताको अस्त्र फालेर प्रचण्डले नेतृत्वमा निरन्तर रहन एकताको प्रयासलाई पुनः बहसमा ल्याएका हुन् ।
जेनजी आन्दोलनअघि समाजवादी मोर्चा आबद्ध चार दलले संविधान दिवसको अवसर पारेर पार्टी एकताको गृहकार्य अघि बढाएका थिए । तर, राजनीतकि कोर्ष बदलिएसँगै यो एजेन्डा र गृहकार्यको औचित्य तत्कालका लागि सकिएको थियो ।
बिहीबारदेखि काठमाडौंमा सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले समाजवादी मोर्चामा रहेका चार पार्टीका बीचमा एकताका लागि छलफल भइरहेको बताउँदै एकता महाधिवेशनमा जानुपर्ने बताए । पार्टी एकता नभएको अवस्थामा आउँदो मंसिरमा विशेष महाधिवेशन पनि गर्नुपर्ने बताउँदै उनले त्यसको तयारीमा जुट्नुपर्ने बताए ।
यसअघि बसेको पदाधिकारी बैठकमा प्रचण्डले केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला र पालिका कमिटीहरू विघटन गरेर विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका थिए । सो प्रस्तावमा समेत केन्द्रीय कमिटी बैठकमा छलफल हुँदै छ ।
माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले समाजवादी मोर्चामा रहेका माओवादी केन्द्रसहित नेकपा (एकीकृत समाजवादी), नेकपा, नेपाल समाजवादी पार्टी (नेसपा) सहितका बीचमा एकताका लागि छलफल भइरहेको अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराएको बताए । एकताका लागि गृहकार्य भइरहेको बताउँदै प्रचण्डले एकता भएको खण्डमा एकता महाधिवेशन नभए विशेष महाधिवेशन मंसिरमा हुने बताए ।
‘समाजवादी मोर्चामा रहेका चारवटै दलका बीचमा एकताका लागि गृहकार्य भइरहेको छ, एकता भए एकताको महाधिवेशन, नभए पार्टीको विशेष महाधिवेशन मंसिरमा गर्नेगरी अगाडि बढ्नुपर्ने हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै पौडेलले भने ।
प्रचण्डले आफूलाई पार्टी अध्यक्ष भइरहने इच्छा नरहेको बताउँदै पार्टीको अध्यक्ष नरहे पनि जीवनको अन्तिम घडीसम्म देश र जनताको पक्षमा अविचलित रूपमा लागिरहने बताएका छन् ।
अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने, ‘मलाई अध्यक्षमा बसिरहने इच्छा त छैन, तर फरि नेतृत्वको वैज्ञानिक प्रणालीअनुसार यसलाई सुनिश्चित गर्नुपर्छ, म अध्यक्ष नै भइरहनुपर्छ भन्ने होइन, मेरो जीवनको अन्तिम घडीसम्म म देश र जनताका लागि अविचलित रूपमा रहिरहनेछु, तर पनि यो बहस सुरु भएको छ, हामी यसलाई चाहिँ तार्किक निष्कर्षमा पुर्याउँछौं भनेर उहाँले भन्नुभयो ।’
पार्टी एकता र ध्रुवीकरणको विषयमा विचार मिल्नेहरूसँग एकता गर्ने र समाजवादी मोर्चालाई पार्टी एकतामा रूपान्तरण गर्नका लागि सघन छलफल भइरहेको प्रचण्डले जनाएका छन् । उनले मोर्चालाई एकता प्रक्रियामा पुर्याउन अझ प्रभावकारी ढंगले अगाडि बढ्ने र बृहत् वामपन्थी मोर्चा बनाउने कुरा पनि प्रचण्डले आफ्नो प्रस्तावमा राखेको प्रवक्ता सापकोटाले बताए ।
प्रचण्डले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन पार्टीका तर्फबाट प्रभावकारी भूमिका खेल्ने र हरहालतमा निर्वाचन हुनुपर्छ भनेर सरकारको ध्यानाकर्षण गर्ने पनि बताएका छन् । पार्टीको महाधिवेशनमा जेनजी पुस्ताको अधिकतम् सहभागिताका लागि वातावरण तयार पार्ने, आगामी निर्वाचनमा टिकट दिने बेलामा जेनजी पुस्तालाई विशेष प्राथामिकता दिने कुरा पनि प्रचण्डले उल्लेख गरेको सापकोटाले बताए ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष प्रचण्डले महाधिवेशनबाट विधि बनाएर पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् भन्ने चाहना राखेको बताए । प्रचण्डले गत साउनमै आफूले भूमिका बदल्ने भनेर प्रस्ताव राखेको उनले बताए । प्रचण्डको सो प्रस्तावलाई स्वीकार गरेर पार्टीमा अब खुला रूपमा छलफल हुने पुनले बताए । जेनजी आन्दोलनपछि भने प्रचण्डले राखेको प्रस्तावमा बहस झनै बढेर गएको उनले बताए ।
‘महाधिवेशनबाट विधि बनाएर पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस्, विधि र प्रक्रियामा जाऔं भनेर उहाँ (प्रचण्ड)ले नै प्रस्ताव राख्नुभएको छ, त्यसलाई पार्टीले स्विकारेर ओपन छलफल गर्छ,’ पुनले भने ।
माओवादी केन्द्रका अर्का उपमहासचिव पुनले जेनजी आन्दोलनको भावनालाई आत्मसाथ गरेर नेतृत्व हस्तान्तरण र नेतृत्वको भूमिका परिवर्तन गर्नुपर्छ भन्ने आफूहरूले सोचेको पनि बताए । नेताहरूले अध्यक्ष प्रचण्डमाथि मात्रै प्रश्न गरेर पनि नहुने बताउँदै उनले माओवादी पुस्तान्तरणको एजेन्डालाई स्वीकार गर्न तयार रहेको प्रस्ट पारे । अध्यक्ष प्रचण्डले आफ्नो भूमिका बदल्न तयार रहेको कुरा प्रस्ट पारिसकेको पनि उनले बताए ।
शर्माले विशेष महाधिवेशनको घोषणा प्रक्रियासँगै अध्यक्षलगायत दुईदेखि तीन दशकसम्म एउटै पदमा रहँदै आएका सबै पदाधिकारीले एकसाथ राजीनामा दिनुपर्ने प्रस्ताव अघि सारेका छन् । केन्द्रीय कमिटीको बैठकमा जनार्दनले अध्यक्ष प्रचण्डलगायत सबैले आगामी महाधिवेशनमा निर्वाचनको प्रक्रियामा सामेल नहुने निर्णय यही बैठकमार्फत लिनुपर्ने अपिलसमेत गरेका छन् । उनले अध्यक्षसहित सबै पदाधिकारी रहनेगरी एक निर्देशक कमिटीको रूपमा काम गर्नेगरी संयन्त्र निर्माण गर्न माग गरेका छन् ।
‘पार्टी पुनर्गठनको प्रक्रियालाई अगाडि बढाउन यस बैठकबाट अध्यक्ष कमरेडलगायत हामी सबै पदाधिकारीले आफ्नो पदबाट राजीनामा गर्नुपर्छ, महाधिवेशनसम्म पार्टीलाई संयोजन गर्नेगरी पदाधिकराीबाट नभए स्थायी समितिबाट कार्यभार दिन डराउनुहुँदैन,’ शर्माले केन्द्रीय समितिले गरेको प्रस्तावमा उल्लेख गरिएको छ ।
उनले राष्ट्रियताको रक्षाका लागि जनताको समर्थनको कुरामा जनताको समर्थनका लागि पनि जनताले आवाज सुन्नेगरी जनतालाई अपिल गर्नसक्ने नयाँ अनुहारहरू अगाडि सार्नुपर्ने मत पनि राखेका छन् ।
‘अहिलेकै नेतृत्वमा गरिने अपिलहरू जनताबाट सुनिने अवस्था छैन, त्यसर्थ आ–आफ्ना कमी कमजोरीहरूप्रति आत्माआलोचित हुँदै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरौं र समग्र पूनर्गठनमा मद्दत पु¥याऊँ, यसको अर्थ यो होइन कि अध्यक्ष प्रचण्डले गरेको योगदान र उहाँको टिमको भूमिकालाई नजरअन्दाज गरौं, अध्यक्ष प्रचण्डले जनयुद्धअगाडि गरेको सांगठनिक योगदान, जनयुद्धमा गरेको ऐतिहासिक नेतृत्व र जनयुद्धपछिको योगदानलाई उच्च सम्मान गरौं, आज इतिहासले दिएको यही नै एउटा विकल्प हो,’ शर्माले भनेका छन् ।
यस्तै, शर्माले माओवादी यतिबेला विघटित अवस्थामा रहेको टिप्पणीसमेत गरेका छन् । ‘हाम्रो पार्टी यतिबेला विघटित प्राय छ, पार्टी केन्द्रीय कार्यालय आगजनीमा परेको छ, आन्दोलनले निम्त्याउने सम्भावित खतरा’bout पूर्वआँकलन गर्न नसक्नु, लाखौं पार्टी सदस्य र नेतृत्वको यति ठूलो फर्मेसन हुँदाहुँदै हाम्रो पार्टी हेडक्वार्टर जलिरहँदा हामी कोही पनि प्रतिवाद गर्न नसक्ने ठाउँमा पुग्नु, आफैंलाई बचाउने हैसियत नहुनुले आधारभूत वर्ग हामीसँग रिसाएको वास्तविकतालाई उजागर गरेको छ, आन्दोलन सबैतिर विस्तार भइरहेको बेलामा के गर्ने भनेर अन्योलमा रहेका नेता कार्यकर्ताहरूलाई मार्गदर्शन गर्न सकेनौं, राज्यविहीनताको अवस्थासँगै पार्टीविहीनताको अवस्था रह्यो, यसले विघटनको तथ्यलाई स्पष्ट गर्छ,’ शर्माले भनेका छन् ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमलाई लिएर पार्टी अध्यक्ष प्रचण्डले कार्यकारी नेतृत्वबाट बिदा लिनुपर्ने सुझाव दिएका छन् । बैठकमा पूरक प्रस्ताव राख्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अध्यक्ष प्रचण्डको राजीनामा माग गरेका हुन् ।
‘पार्टी महाधिवेशन यसरी उपयुक्त समयमा गर्ने तयारीअनुरूप अगाडि बढ्दैगर्दा पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिने कार्यको थालनी भने अहिले नै गरिनुपर्छ, अहिले जेनजी विद्रोहात्मक आन्दोलनले दिएको सन्देश, पारेको प्रभाव र निर्वाचनमा गर्नुपर्ने अपिलको सन्दर्भमा अध्यक्ष कमरेडले अध्यक्ष पदको कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुन्छ,’ श्रेष्ठले भनेका छन् ।
उनले महाधिवेशनबाट त्यस प्रकारको निर्णय लिने हो भने पनि अहिले संस्थागत प्रणालीअन्तर्गत दोस्रो प्रकृतिको नेतालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने धारणा पनि राखेका छन् । श्रेष्ठ अहिले प्रचण्डपछिको वरीयतामा रहेका छन् र पार्टीभित्रै श्रेष्ठलाई पार्टी नेतृत्व दिनुपर्ने आवाजसमेत उठिरहेको छ ।
‘यो पार्टी पुनर्गठनको सन्देश दिन र जनतालाई अपिल गर्न सकारात्मक कदम हुनेछ, अध्यक्ष कमरेड प्रचण्डले नै यो पहल लिँदा सामान्यतः नेपाली मुद्दाको राजनीतिमा र विशेषतः नेपाली कम्युनिस्ट आन्दोलनमा उहाँको ऐतिहासिक अगुवाइको रूपमा स्थापित हुनेछ,’ श्रेष्ठले भनेका छन् ।
एमालेमा औपचारिक रूपमै सुरु भयो पार्टी पुनर्गठनको बहस
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको अपिल गरेका छन् । बिहीबार एक भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले एमाले पुनर्गठनका लागि अपिल गरेका हुन् ।
एमाले सचिव भट्टराईले जेनजी विद्रोहपछि बदलिएको अवस्थालाई मनन् गरी पार्टी पुनर्गठनको अभियानमा साथ दिन अपिल गरेका हुन् । ‘इतिहासका हरेक संकटका घुम्ती र मोडहरूमा हामी पुनर्गठित भएको सत्यलाई पनि मनन् गर्नु जरुरी छ, त्यही स्वीकारोक्तिसहितको अभियानका लागि अपिलसमेत गर्दछु, आत्मभत्र्सना बन्द गरौं, आत्मसमीक्षा डटेर गरौं,’ भट्टराईले भिडियो सन्देश सार्वजनिक गर्दै भनेका छन् ।
संकटका बेला आन्दोलन र पार्टी पुनर्गठन भएका थुप्रै उदाहरण रहेको पनि उनले बताएका छन् । जसक्रममा १९ माघको घटनापछि एमालेकै पुनर्गठन भएको सन्दर्भसमेत उनले उल्लेख गरेका छन् ।
‘१९ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले संविधान र लोकतान्त्रिक प्रणालीमाथि ‘कू’ गर्दा पनि समाज र पार्टीमा आजको जत्तिकै सन्नाटा छाएको थियो । त्यसबेला पार्टीकै युवा पुस्ताले अग्रसता लिएर पार्टी पुनर्गठनको बहस चलायो,’ उनले भनेका छन्, ‘अन्ततः नेकपा एमालेको नवौं महाधिवेशनले पार्टी पुनर्गठनको एजेन्डा स्वीकार ग¥यो, पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रणालीगत रूपमा स्थापित ग¥यो, पार्टी बच्यो, आन्दोलन सफल भयो ।’
पार्टी पुनर्गठनले नेतृत्वको समेत सम्मान भएको प्रसंग भट्टराईले सम्झेका छन् । तर, कमजोरीलाई नस्वीकार्दा अरूलाई लाभ पुग्ने पनि उनले बताएका छन् । ‘लेनिनले भन्नुभएको छ, क्रान्तिकारी आन्दोलनले आफ्ना कमजोरीलाई स्वीकार नगरेसम्म सुधार र प्रगति सम्भव हुँदैन, कमजोरी लुकाउनु भनेको दुस्मनलाई बलियो बनाउन सहयोग गर्नु हो,’ भट्टराईले भनेका छन् ।
एमाले सचिव भट्टराईले पार्टी पुनर्गठनको आवाज उठाउँदै गर्दा अध्यक्ष केपी शर्मा ओलीले भने नेतृत्व परित्याग वा पार्टी पुनर्गठनका ’boutमा बोलेका छैनन् । यद्यपि, एमालेमा पार्टी पुनर्गठनसहित नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको आवाज चर्को रूपमा उठिरहेको छ ।
राजधानी दैनिकबाट