काठमाडौं। आन्दोलनको एक महिना पुग्नै लाग्दा ‘जेन-जी’ समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित दलका नेतालाई पक्राउ गर्न दबाब बढाएका छन्।
यसअघि ‘एरेष्ट केपी ओली’ र ‘एरेस्ट रमेश लेखक’ अभियान चलाएका ‘जेन-जी’ अभियन्ताहरूले दुवैलाई पक्राउ गर्न सरकारसमक्ष दबाब बढाएका हुन्। ‘जेन-जी’ आन्दोलनका क्रममा भदौ २३ गते प्रहरीले चलाएको गोली लागेर ठूलो संख्यामा प्रदर्शनकारी मारिएको भन्दै तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्न उनीहरूले दबाब बढाएका हुन्। त्यसका लागि ‘जेन-जी’ अभियन्ताहरूले प्रहरीलाई पनि दबाब दिइरहेका छन्।
सोमबार साँझ ‘हामी नेपाल’का संयोजक सुदन गुरुङ सहितको टोली काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी नै लिएर पुगेका थिए। यद्यपि, प्रहरीले जाहेरी दर्ता भने गरेन । उनीहरू मंगलबार पनि जाहेरी दिन प्रहरी परिसर पुगे ।
प्रहरी भने जाहेरी लिने/नलिनेमै अन्योलमा देखिएको थियो। ‘जेन-जी’कै दबाबमा गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार राति सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए, तर प्रहरीले जाहेरीका लागि केन्द्रीय सुरक्षा समितिको निर्देशन र लिखित आदेश आवश्यक पर्नसक्ने ब्रिफिङ गरेको थियो।
तर, चर्को दबाबपछि अन्ततः प्रहरीले जाहेरी लिएको छ । प्रहरीले मंगलबार ओली र लेखकविरुद्ध जाहेरी लिएर जाँचबुझ आयोगमा पठाएको हो । मंगलबार दिउँसो चार मृतकका परिवारले परिसरमा जाहेरी बुझाएका थिए । मृतकका परिवार पुरुषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिकाकुमारी चौधरीले जाहेरी दिएका हुन्। ओली र लेखकले मानवता विरुद्धको कसुर र राज्य विरुद्धको कसुर गरेको भन्दै जाहेरी परेको छ।
ओलीविरुद्ध आन्दोलनमा ज्यान गुमाएकाका आफन्तले किटानी जाहेरी दिएपछि पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले काउण्टर दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध काउण्टर जाहेरी दिन अखिलका नेताहरू काठमाडौं प्रहरी परिसर पुगेका हुन् ।
उनीहरूले बालेन र सुदनलाई सिंहदरबारलगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीको हत्या गरेको आरोप लगाएर जाहेरी दिएका हुन् । तर, प्रहरीले जाहेरी दर्ता गरेको छैन । शाह र गुरुङ विरुद्धको जाहेरीबारे नेपाल प्रहरीले २४ घण्टापछि जवाफ दिने भएको छ । प्रहरीले उक्त जाहेरी फोटोकपी मात्रै गरेर राखेको छ ।
ओली, लेखकसहितका नेतालाई पक्राउ गर्ने कुरामा ‘जेन-जी’ अभियन्ताको समेत एकमत छैन । आन्दोलनपछि प्रधानसेनापतिसँग ‘जेन–जी’ प्रतिनिधि बनेर वार्ता गर्न गएका रक्षा बमलगायत समूह कार्की नेतृत्वको आयोगकै प्रतिवेदन कुर्ने र २३ गतेको आन्दोलन दमन गर्ने तथा २४ गते अराजकता मच्चाउने दुवै पक्षलाई कारबाही गर्नुपर्ने पक्षमा छ ।
उनीहरूले प्रहरीलाई जाहेरी दिनेभन्दा पनि आयोगले नै खुट्टा नकमाई निर्णय गर्नुपर्ने र आयोगकै प्रतिवेदनका आधारमा दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग राखेका छन् ।
यस्तै, ‘जेन-जी’ अभियन्ता तनुजा पाण्डेले पनि सामाजिक सञ्जालमार्फत वर्तमान सरकारको निष्ठा र प्रतिबद्धताप्रति आफ्नो पूर्ण समर्थन एवं विश्वास रहेको भन्दै आन्दोलन दमनको बर्बरतापूर्ण घटनाको निष्पक्ष र पारदर्शी छानविन भई दोषीमाथि हदैसम्मको कानुनी कारबाही हुने विश्वास व्यक्त गरेकी छन्।
तर, ‘जेन-जी’ प्रतिनिधिको रूपमा उभिएको ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङ र उनको टिममा रहेका सदस्य आन्दोलन दमनमा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्नुपर्ने पक्षमा छन् । कार्की नेतृत्वको छानविन आयोगको प्रतिवेदन नआए पनि उनीहरूलाई पक्राउ गर्न ढिला गर्न नहुने गुरुङ पक्षको तर्क छ । गुरुङले नै ‘एरेस्ट केपी ओली’ भन्ने ह्यासट्याग अभियान सामाजिक सञ्जालमार्फत थालेका थिए।
‘जेन-जी’ का केही प्रतिनिधिहरूले अक्टोबर ८ र ९ मा ‘जेन-जी’ पुस्ता आन्दोलनका लागि सडकमा जाने कुनै कार्यक्रम नरहेको प्रष्ट पारेका छन् । मंगलबार ‘जेन-जी’ आन्दोलनमा मृत्युवरण गरेका र घाइतेहरूका तर्फबाट जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका उनीहरूले परिसर क्षेत्रमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै असोज २२ र २३ गते कुनै प्रदर्शन नरहेको बताएका हुन् ।
‘अक्टोबर ८ र ९ सडकमा उत्रेर कुनै पनि आन्दोलन गर्ने योजना छैन, हामी देशमा रक्तपातमा चाहँदैनौँ’, जेन-जी अगुवा ओजस्वी थापाले भनिन्, ‘घरमा बसेका राजनीतिक दलहरूलाई आग्रह गर्छौं-सरकारलाई कानुन कार्यान्वयन गर्न दिनुस् ।’
सरकार र प्रहरी प्रशासनलगायत सरकारी निकायलाई कानुन कार्यान्वयनमा सघाउन उनले आग्रह गरिन्। अर्का ‘जेन-जी’ प्रतिनिधि जेम्स कार्कीले ‘जेन-जी’ ले न्याय नपाएसम्म आन्दोलन नरोक्ने तर, त्यो आन्दोलन शान्तिपूर्ण र अर्थपूर्ण हुने बताए।
‘जेन-जी’ युवाका नेता सुदन गुरुङले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने बताउनुभएको छ । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सुदनले ‘जेन-जी’को नाममा आपराधिक गतिविधि नभड्काउन आग्रह गरेका छन्।
यस्ता कार्य गर्नेहरूले कानुनबमोजिम सजाय भोग्नुपर्ने उनको भनाइ छ । ‘हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौँ । हाम्रो नाम प्रयोग गरी आपराधिक गतिविधिहरू भडकाइँदै छ,’ उनले लेखेका छन्, ‘हाम्रो आन्दोलन सधैँ शान्तिपूर्ण नै थियो र रहनेछ, त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौँ ।’ आफूहरूकोे नाम प्रयोग गरी आपराधिक गतिविधिहरू भड्काइन खोजिएको उनले आशंका गरे।
‘हामी राजनीतिक दलहरूलाई खबरदारी गराउन चाहन्छौँ कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन । अब जनता जागिसकेका छन्, हामीलाई फुटाउन कुनै प्रयास नगरियोस्,’ उनले भने।
हिमालय टाइम्स दैनिकबाट