गोरखा। नेकपा (माओवादी केन्द्र) द्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम आज गोरखा सदरमुकाममा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्य वक्ता र संयोजकका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा संयोजक प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्था, जेन–जी आन्दोलनका मुद्दा तथा पार्टीको आगामी कार्यदिशाबारे आफ्ना विचार प्रस्तुत गरे। उनले जेनजी पुस्ताले उठाएका विषयहरू माओवादी आन्दोलनकै निरन्तरता भएको बताउँदै ती मुद्दा पूरा गर्न पार्टी प्रतिबद्ध रहेको स्पष्ट गरे।
‘जेन–जी आन्दोलनले उठाएका मुद्दा हामीले बिगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ,’ उनले भने।
अन्तरिम सरकारबारे टिप्पणी गर्दै प्रचण्डले हालको सरकारलाई समर्थन जनाउने निर्णय संविधानसम्मत प्रक्रियामार्फत भएको उल्लेख गरे।
‘केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन्तरिम सरकारप्रति हामीले समर्थन जनाएका थियौँ, तर हाम्रो मत संसदबाट अनुमोदन गरेर र संविधान संशोधन गरेर मात्र संसद विघटन गरौँ भन्ने थियो,’उनले भने।
चुनाव नजिकिँदै गएपछि प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गरे।
‘अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो। सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु। चुनाव हुनेछ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नु बाहेक कुनै विकल्प छैन,’उनले भने।
देशभर माओवादी केन्द्रप्रतिको जनविश्वास बढ्दै गएको दाबी गर्दै प्रचण्डले पार्टीको संगठन विस्तार तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए।