काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम बुझाउन पछिल्लो पटक दिएको समय आइतबार राति १२ बजे सकिएको छ। यसअघि समय सकिएलगत्तै सबैभन्दा बढी बक्यौता रहेका उद्योगको बिजुली काट्ने गरिँदै आएको थियो।
तर यसपटक सोमबार लक्ष्मीपूजा भएकाले प्राधिकरणले बिजुली काटेन। ‘लक्ष्मीपूजा गर्न दिने भन्दै सोमबार बिजुली नकाट्ने निर्णय गरिएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए।
लक्ष्मीपूजा सकिएसँगै मंगलबार बिहानै प्राधिकरणले ६ वटा उद्योगको विद्युत् लाइन काटेको जनाएको छ। प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटिएको हो।
प्राधिकरणका अनुसार जगदम्बाको १ अर्ब ६० करोड, रिलायन्सको ७५ करोड ३७ लाख, शिवमको ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ। यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंकलाइनमार्फत बिजुली प्रयोग गरेबापतको थप महसुल हो।
बक्यौता नतिर्दा लाइन काटिएका उद्योगहरु
उद्योग बक्यौता रकम
जगदम्बा स्टिल १ अर्ब ६० करोड १८ लाख
रिलायन्स स्पिनिङ मिल्स ५ करोड ३७ लाख
शिवम् सिमेन्ट ६६ करोड ८८ लाख
घोराही सिमेन्ट ५० करोड ८५ लाख
अर्घाखाँची सिमेन्ट ४४ करोड ८४ लाख
त्रिवेणी स्पिनिङ मिल्स ३२ करोड १० लाख