छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु

काठमाडौं। पाँचथर, कुम्मायक गाउँपालिका-३ कार्तिकेस्थित तमोर करिडोर सडक खण्डमा ताप्लेजुङबाट धारानतर्फ जाँदै गरेको मे.१ ज ३०५५ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकदेखि करिब तीन सय मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार तीन जना पुरूष र तीन जना महिला गरी ६ जनाको मृत्यु भएको छ।

साथै दुर्घटनामा घाइते भएका गाडीमा सवारमध्ये ५ जनालाई उपचारको लागि धरानतर्फ र १ जनालाई जिल्ला अस्पताल फिदिमतर्फ पठाइएको छ।

काठमाडौं, टोखा नगरपालिका-३ शेर्पा पेट्रोल पम्प नजिक सडकमा बा.प्र-०२-०४९ प ०१९४ नम्बरको मोटरसाइकल अनियान्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक टोखा नगरपालिका-२ चण्डेश्वरी बस्ने ३२ वर्षीय सुरेश डंगोलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रेण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दोलखा, कालिन्चोक गाउँपालिका-९ सुन्द्रावतीस्थित सडकमा चरिकोटबाट लापिलाङतर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ०८३६ नम्बरको बलेरोबाट खसेर बलेरोमा सवार बैतेश्वर गाउँपालिका-३ बस्ने ३० वर्षीय सरोज दाहालको शुक्रबार दिउँसो मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल शाखा अस्पताल दोलखा हुँदै मध्यपुर थिमी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो। बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङ, उर्लाबारी नगरपालिका-९ भोटेपुलस्थित सडकमा प्रदेश १–०२-०५७ प ६०९० नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक उर्लाबारी नगरपालिका-२ बस्ने ४२ वर्षीय प्रेम राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सप्तरी, तिरहुत गाउँपालिका-१ धनपुरीस्थित सडकमा काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २५८२ नम्बरको हाईसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया जगिया देवी सुढी पंजियारको शुक्रबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषा, मिथिला नगरपालिका-६ ढल्केवरस्थित सडकमा जनकपुरबाट बर्दिवासतर्फ जाँदै गरेको म.प्र.०२–००७ प ९९८२ नम्बरको मोटसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक मिथिला नगरपालिका-३ बस्ने २३ वर्षीय सन्तोष महतोको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

कपिलवस्तु, शिवराज नगरपालिका–१ बनकसबासस्थित सडकमा धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ख ५७०३ नम्बरको बस अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा बसमा सवार डोटी दिपायल सिलगढी नगरपालिका–१ टिखा बस्ने १८ वर्षीया सरस्वती खड्काको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका बसमा सवारमध्ये ३ जनाको सोही अस्पतालमा, १२ जनाको चौराहा अस्पताल बुटवलमा र ९ जनाको सन्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ। हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडीस्थित सडकमा धनगढीबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १९०७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-४ बस्ने ६० वर्षीय गणेश शाहीको शनिबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। बसले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई दुर्घटना समेत भएको थियो।

दुर्घटनामा घाइते भएका बसमा सवार २० जनामध्ये ९ जनाको मायामेट्रो अस्पतालमा, ४ जनाको नवजिवन अस्पतालमा, ४ जनाको स्वस्तिक कार्डियो अस्पतालमा र ३ जनाको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।