एमाले पङ्क्तिलाई योगेशको आह्वान- नेतृत्वको अपमान होइन सम्मानसहित पुनर्गठनमा लागौं

एमाले पङ्क्तिलाई योगेशको आह्वान- नेतृत्वको अपमान होइन सम्मानसहित पुनर्गठनमा लागौं

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले अब एमाले र कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्ने बेला आएको भन्दै नेतृत्वका सम्मानसहित पुनर्गठनको प्रस्ताव राखेका छन्।

भट्टराईलो लामो लिखित र भिडिओ सन्देश जारी गर्दै परिवर्तित सन्दर्भलाई बुझ्न र संकटले सिर्जना गरेर नयाँ चेतनाबाट पार्टी पुनर्गठन गर्न आवश्यक रहेको बताएका छन्। उनले पुनर्गठनको अर्थ अहिलेको नेतृत्वको अपमान वा प्रहारको रूपमा कतैबाट पनि व्याख्या गर्न नहुने बताएका छन्।

भट्टराईले भनेका छन्- ग्राम्सीले भने जस्तै अब नेकपा (एमाले)लाई, कम्युनिष्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ। फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा हामीले इतिहासको बेवास्ता र अपमान कदापि गर्नु हुन्न।


पार्टीका नेताहरू जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईँ–हामी पनि उहाँहरूसँगै थियौँ । यो जस–अपजसको भागीदार हामी पनि हौँ । त्यसैले म यो बेला भन्छु, ‘उहाँहरूको सम्मान सहित पुनर्गठन ।’ फेरि यहाँनिर पुनर्गठन र रूपान्तरणको बहस गरिरहँदा वर्तमान मूल नेतृत्वप्रतिको प्रहारको रूपमा जबरजस्ती कहीँ कतैबाट उत्तेजनापूर्ण व्याख्या गरिएको पनि सुनिन्छ । म तपाईँहरूलाई भन्न चाहन्छु, ‘कमरेडहरू, यो आन्दोलनको वैभव, संगठनको साम्राज्य र अजेय विचार रह्यो भने न उहाँहरूको सम्मान रहन्छ । इतिहास रहन्छ ।’ सम्झिनुहोस् त, दुनियाँको इतिहास । लेनिनका, मार्क्सका शालिकहरु ढालिएका इतिहास तपाई हामीले पढेका छौँ ।

हाम्रो नेताहरूको इतिहासको रक्षा र सम्मान त्यति बेला मात्रै हुन्छ, जतिबेला हाम्रो आन्दोलन रहन्छ । इतिहासको सम्मान वर्तमानप्रतिको सचेत निर्णय र भविष्य निर्माणको आधार पनि हो । पुनर्गठन र रूपान्तरणको आवाजलाई हाम्रो आदरणीय नेताहरूमाथिको प्रश्न अथवा अपमानको रूपमा अर्थ लगाउनु सर्वथा गलत हो । वस्तुतः यो व्याख्या गर्नेहरू नै हाम्रो नेतृत्वको सम्मानका बाधक हुन् ।