काठमाडौं। जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि सरकारविहीनताको अवस्था सिर्जना भएको छ । अन्तरिम सरकार गठनका लागि जेन–जी प्रतिनिधिहरुले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाम अगाडि सारेको छ । रिपोर्टर्स क्लब नेपालले अबको निकासबारे जेन–जी प्रतिनिधिहरुसँग साक्षत्कार गरेको छ ।
जेन–जी प्रतिनिधि दिवाकर ढंगालले नेपाली जनताको सार्वभौमसत्ता, राष्ट्रिय एकता, स्वाभीमानसहित सम्पूर्ण नेपालको हक हितको रक्षा, आर्थिक उन्नति र समृद्धिका लागि सबै नेपाली एकजुट भएर यस विषय परिस्थितिको सामना गर्नुपर्ने बताए । सबैले आ–आफ्नो स्थानमा समूहबद्ध भई टोलको सुरक्षा र राष्ट्रको पुनर्निर्माणको निमित्त नेपाली सेनालगायतका सुरक्षा निकायको समन्वयमा शान्ति, सुशासन र सुव्यवस्था कायम गराउनुपर्ने उनले बताए ।
त्यसैगरी, जुनाल गदालले अब यतिबेला जेन–जी संयमित हुन जरुरी रहेको बताए । ‘जसरी हिजो हामीले तोडफोड गर्यौं । आक्रोशमा थियौं । अब हामी संयमित हुन जरुरी छ । आज देशमा जेन–जी युवाहरु एक भएनौं भने पुराना दलहरुलाई फाइदा हुने स्थिति छ,’– उनले भने ।
भ्रष्टाचार तीब्र रुपमा बढिरहेको र देशमा आम नेपाली बाँच्न एकदमै गाह्रो भइरहेको उनले बताए । भ्रष्टाचार र अत्याचारको सीमा नाघिसकेको अवस्था युवा देशको कुना–कुनाबाट युवाहरु जाग्दा के हुन्छ भन्ने कुरा जेन–जी आन्दोलनले प्रष्ट पारेको उनले बताए ।
त्यसैगरी, अनिल बानियाँले जेन–जीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेको बताए । उनले सिंहदरबार, न्यायलयलगातका संरचना षड्यन्त्र रचेर जलाइएको उनको आरोप छ । उनले भने, ‘देशमा गणतन्त्र आएदेखि हामीलाई नेताहरुले लुटेका छन् । यिनीहरुले हाम्रो रोजीरोटी पनि खोसेका छन् । हुम्ला, जुम्ला र मुगुमा अहिले पनि सिटोमोलका अभाव छ । देशमा बुढाखाडाबाट वाक्कदिक्क भएर देश खोक्रो हुने अवस्थामा पुगिसकेको छ । हामीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेका थियौं । केही झोले कार्यकर्ताहरु आएर देशको संरचनामाथि आगो लगाएका छन् ।’
ओजस्वीराज थापाले जेन–जीले अहिले लिडरसीप लिन नसक्ने र लिन पनि नहुने बताए । जेन–जी अहिल ‘वाच डग’ को रुपमा मात्रै रहनुपर्ने उनको भनाइ छ । ‘हामीले जेन–जीको प्रतिनिधित्व गरेका हौं । तर, हामीलाई लिडरसीप लिनु छैन । सायद हामी तत्काल यो देशको लागि क्यापेबल पनि छैनौं । हामीलाई परिपक्व हुनका लागि समय लाग्छ । अहिले हामी ‘वाच डग’ को रुपमा मात्रै बस्नेवाला छौं,’– उनले भने ।
साथै, उनले आफूहरुको माग संसद् विघटन भएपनि संविधान खारेजीको पक्षमा आफूहरु नरहेको बताए । संविधान संशोधन भए पनि खारेज भने नहुने उनले बताए । जेन–जीको पहिलो प्राथमिकता भनेको सुशासन कायम गर्नु रहेको उनले बताए ।
त्यसैगरी, सुदीप सेठले जेन–जी संविधानअनुरुप नै अगाडि बढ्ने बताए । भ्रष्टचारमुक्त र कानुन बुझेर गाइड गर्न सक्ने व्यक्ति पनि भएकाले जेन–जीको समर्थन पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई रहेको उनले बताए । ‘हामी संवैधानिक रिक्ततामा छैनौं । हामी नेतृत्वविहीन राज्यमा रहेपनि हामीसँग संविधान छ । हाम्रो संविधानको रक्षा गर्ने राष्ट्रपति पनि हुनुहुन्छ । संविधानअनुरुप नै हामी अगाडि बढ्ने छौं,’– उनले भने ।
जेन–जी अभियन्ता पुरुषोतम यादवले आफूहरुको मुख्य मुद्दा संसद् विघटन र पूर्ण समर्थन पूर्व प्रधानन्यायाधीश कार्कीमाथि रहेको बताए । प्रदीप पाण्डेले जेन–जी जहिले पनि भ्रष्टाचारको विरुद्धमा रहेको बताए । उनले जेन–जी एकीकृत रहेको बताए । अर्का वक्ता मदन खत्रीले भ्रष्टाचारलाई जेन–जीले नै सुधार गर्नुपर्ने बताए ।
प्रेरणा अधिकारीले सबै जेन–जीहरु एकीकृत हुनुपर्ने र पार्टीका भरौटेहरुले जेन–जीको नाममा राजनीति गर्न नहुने बताईन् । अब बन्ने अन्तरिम सरकारबारे पनि सबै जेन–जी मिलेर सेनासँग वार्ता गर्नुपर्ने उनले बताईन् । सेनासँग हुने वार्ता पनि लाइभ हुनुपर्ने र अबदेखिका सबै कुरा पारदर्शी हुनुपर्ने उनको धारणा छ ।
अर्का वक्ता अर्जुनविक्रम शाहीले देश बनाउन हिजोका पुस्ताबाट परिवर्तन सम्भव नरहेको बताए । युवाहरुबाहेक अरु कुनै पनि विकल्प छैन भन्ने अन्तिम निष्कर्षसहित आफूहरु आन्दोलनमा होमिएको पनि उनले बताए । यो आन्दोलन २ वर्षको मेहनतको परिणाम रहेको पनि उनले बताए ।
हामी नेपालका अध्यक्षसमेत रहेको सुदन गुरुङले जेन–जीको एक–एक थोपा रगतको बदला लिने बताए । उनले कसैलाई नछाड्ने चेतावनी दिए । उनले जेन–जी आन्दोलनलाई समर्थन गर्न सबैलाई आग्रह गरे । आफूले अहिलेसम्म नेपालको झण्डा बोकेर हिँडेको र कुनै पार्टीलाई पनि अहिलेसम्म समर्थन नरहेको बताए ।