जेन-जी प्रदर्शनः सिंहदरबार, सर्वोच्च अदालतदेखि नेताहरुको घरसम्म जल्यो

जेन-जी प्रदर्शनः सिंहदरबार, सर्वोच्च अदालतदेखि नेताहरुको घरसम्म जल्यो

काठमाडौं।  काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा प्रदर्शनकारीबाट भएको आक्रमणको निशानामा देशको प्रमुख प्रशासनिक केन्द्र सिहदरबारलगायत महत्त्वपूर्ण भवन र संरचना क्षति भएका छन्।

काठमाडौँ बानेश्वरसहितका स्थानमा जेन्सी समूहबाट आयोजित प्रदर्शनपछि भड्किएको घटना र आगजनीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य भवन जलेका हुन् ।

सिँहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय भवन, रामशाहपथस्थित सर्वोच्च अदालत र नयाँ बानेश्वरस्थित सङ्घीय संसद् आगलागीबाट ध्वस्त भएको छ ।

प्रदर्शनकारीले रामशाहस्थित महान्यायाधीवक्ताको कार्यालय तथा ट्राफिक कार्यालयसमेत आगजनी गरेका छन् । प्रदर्शनीकारीबाट नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादीकेन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका निवासमा तोडफोड र आगजनी गरिएको छ ।

एमालेका नेता गोकुल बास्कोटा, महेश्व बस्नेत, महेश बर्तौलालगायतका निवासमा पनि आगजानी र तोडफोड भएको छ । आन्दोलनकारीले केही नेताहरूलाई पनि हातपात गरेको सूचना प्राप्त भएको छ । देशका मुख्य शहरहरूका महत्त्वपूर्ण भौतिक संरचना र निवासमा पनि आन्दोलनकारीबाट क्षति पुर्‍याइएको छ ।

जेन्जी पुस्ताको प्रदर्शनीमा प्रहरी कारवाहीमा १९ युवा मारिएपछि प्रदर्शनीले उग्ररुप धारणा गरेको थियो ।