प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्रीले अपिल जारी गर्दै वार्ता र संवादबाट समस्याको समाधान खोज्नको लागि सर्वदलीय बैठक बोलाइएको बताएका हुन्।

बैठक आज साँझ ६ बजे बस्ने बताइएको छ।


‘हिजो राजधानी र देशका विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःखी छु,’ प्रधानमन्त्री ओलीको अपिलमा भनिएको छ, ‘कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो।’

उनले देशमा उत्पन्न परिस्थितिको मूल्यांकन गर्न र सार्थक निष्कर्षको लागि संवद्ध पक्षसँग आफू संवादमा रहेको पनि उल्लेख गरेका छन्।

‘सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा यो विषम परिस्थितिमा संयम रहन विनम्र अनुरोध गर्दछु,’ उनले भनेका छन्।

जेनजी पुस्ताले गरेको प्रदर्शनमा सरकारले गरेको दमनको विरोधमा आज आन्दोलन झन् चर्किएको छ।