विद्याले गलत मनशाय भएकाको सहयोग खोजेको भन्दै ओलीले भने,‘सक्रिय राजनीनिमा आउन सम्भव छैन’

विद्याले गलत मनशाय भएकाको सहयोग खोजेको भन्दै ओलीले भने,‘सक्रिय राजनीनिमा आउन सम्भव छैन’

काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गलत मनशाय भएकाहरुको सहयोग खोजेको टिप्पणी गरेका छन् ।

विधान अधिवेशनको राजनीतिक प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीनिमा आउन गलत मनशाय भएकाहरुको साथ खोजेको र उनी सक्रिय राजनीतिमा आउने कुरा सम्भव नरहेको बताएका हुन् ।

पूर्व राष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउने चाहना नराखेकै राम्रो हुने उनको भनाइ छ । ‘सक्रिय राजनीतिमा आउने चाहना राख्नुहुन्थ्यो । आएपछि पनि अध्यक्ष बन्न आउन खोज्नुभएको छ । यो अहिले सम्भव छैन । अध्यक्षविरुद्ध आलोचना, गलत मनसाय भएका साथीभाइको सहयोग खोज्न थाल्नुभयो,’– ओलीको भनाइ थियो ।

पूर्व राष्ट्रपति भण्डारीले एमालेको सदस्यता परित्याग गरिसकेको भन्दै ओलीले त्यो अवस्थामा पुन सदस्यताका लागि पुन प्रक्रियामा जानुपर्ने बताए । उनले भण्डारीले आफ्नो राष्ट्रपतिको कार्यकाल अत्यन्तै जिम्मेवारीका साथ र कुशलतापूर्वक पूरा गरेको पनि बताए ।

ओलीले भण्डारी सही ढङ्गले मध्यस्थता गर्न सक्ने सामर्थ्य भएको पूर्व राष्ट्रपति रहेको पनि बताए । ‘विद्या भण्डारीको सन्दर्भमा पार्टीमा दुई मत छैन । राष्ट्रपति बनायौँ । दोस्रो पटक पनि हुनुभयो । अत्यन्तै जिम्मेवारीका साथ कार्यकाल पूरा गर्नुभयो,’– ओलीले भने ।