काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू राष्ट्रलाई हेपेको सहन तयार नरहेको बताएका छन्। गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनलाई सम्बोधन गर्दैै उनले अहिले बन्द गरिएका सामाजिक सञ्जालहरुले नेपाललाई हेप्न खोजेको बताएका हुन् ।
दर्ता भएर राज्यको नियमनमा आउ भन्दाखेरी ती सामाजिक सञ्जालहरु आउन नचाहेको उनको भनाइ छ । आफूलाई जोसुकैले हेपे पनि हेपिन तयार रहेको र राष्ट्रियताको मामलामा हेपेको सहन नसक्ने उनले बताए ।
‘हामी भोकै बसेर पनि स्वाभीमान जोगाएका हौं । भोकै बसेर पनि नाकाबन्दी सहेका हौं । हामी अरु जुनसुकै कुरा सहन तयार छौं, राष्ट्रलाई हेपेको सहन तयार छैनौं । मलाई जसले जतिसुकै हेपोस्, मलाई कुनै मतलब छैन । म हेपिन तयार छु । तर, देशलाई हेपेको सहन सक्दिनँ । त्यसकारण म सबैलाई आग्रह गर्न चाहन्छु– हाम्रो देशलाई हेप्न नखोज । हाम्रो देशलाई होच्याउन नखोज । हाम्रो स्वाभीमानमा ठेस पुर्याउन नखोज,’– उनले भने ।
अध्यक्ष ओलीले अन्य राजनीतिक दलका नेताहरुलाई पनि सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गरेर निरीहता प्रदर्शन नगर्न आग्रह गरे । उनले भने, ‘म नेपालका सबै राजनीतिक दलहरुलाई पनि भन्न चाहन्छु– निरीहता प्रकट नगर्नुस् । क्षणिक स्वार्थमा अन्धो नहुनुस् ।’
साथै, ओलीले आफूहरुले त्यही वाक स्वतन्त्रताको लागि बलिदानी दिएको र संघर्ष गरेर आएको पनि बताए । उनले भने, ‘अहिले सामाजिक सञ्जाल प्यारो लाग्ला । वाक स्वतन्त्रता प्यारो लाग्ला । हामी त्यही वाक स्वतन्त्रताको लागि बलिदान दिएर आएका हौं, संघर्ष गरेर आएको पार्टी हो ।’