काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा दायर भएको मुद्दाको अन्तिम सुनुवाई आजदेखि सुरु हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा दुई वर्षदेखि विचाराधीन रहेको सो मुद्दामा अब अन्तिम टुङ्गो लाग्ने चरणमा पुगेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा छन् । सो मुद्दामा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण भने धरौटीमा रिहा भएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको अभियोगसहित ३१ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो । सो मुद्दामा एमालेका निलम्बित सचिव रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत प्रतिवादी रहेका छन् ।