बालुवाटारमा ओलीले भने-ईश्वर पोखरेल ‘अभागी’ नेता

बालुवाटारमा ओलीले भने-ईश्वर पोखरेल  ‘अभागी’ नेता

काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका केन्द्रीय सदस्य एवं बागमतीका नेतालाई बोलाएर केही निर्देशनात्मक प्रशिक्षण दिएका छन्।

जिल्ला कमिटी काठमाडौंका अध्यक्ष दीपक निरौलाले सार्वजनिक गरेको ४८ बुँदे फेहरिस्तअनुसार ओलीले सम्बोधनको धेरै समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र उनका पक्षमा उभिएका नेताविरुद्ध खर्चिएका छन्।

केही नेताहरूले भण्डारीको फोटो राखेर धन्दा गरिरहेको उनको टिप्पणी छ। सो क्रममा उनले विनोद ढकाल, कर्ण थापा र ईश्वर पोखरेलको नामै लिए।

भण्डारीलाई कतिपयले उचाल्ने काम गरिरहेको भन्दै ओलीले ईश्वर पोखरेल बाटो बिराएर हिँडेको बताए। उनले भने, ‘अभागीलाई खाने बेलामा रिस उठ्छ। उहाँ कहाँ पुग्नुहुन्छ? बाटो बिराएर हिँड्नुभएको छ।’

मोरङका नेता विनोद ढकालको प्रसंगमा उनले ९औं महाधिवेशनमा आफूलाई सहयोग गर्ने प्रमुख पात्र रहेको सम्झिए। विधानबारे कर्ण थापाले गलत कुरा गरेको उनको भनाइ थियो।

विधान महाधिवेशनको सम्भावित फरक मत लक्षित गर्दै अध्यक्ष ओलीले गोदावरीमा आफूले सही विचार प्रस्तुत गर्ने र कसैले फरक मत राखिरहन नपर्ने प्रष्ट पारेका छन्। उनले अन्यथा गर्न खोजे महाधिवेशनमा हिसाब किताब गर्ने चेतावनीसम्म दिए।

‘यो इतिहास हो। इतिहासको रूपमा आउँछ। यो नीतिको रूपमा आउँछ। एक दिन दस्ताबेज प्रस्तुत हुन्छ, एक दिन छलफल र अर्को दिन समापन। विधान महाधिवेशन एकताको अधिवेशन हुन्छ। अन्यथा गरे महाधिवेशनमा हिसाब किताब गरिन्छ।’

कोही पनि सेन्टिमेन्टमा गएर नहुने भन्दै ओलीले विद्या भण्डारी एमालेको सम्पत्ति भएको र त्यही रूपमै रहन दिनुपर्ने बताएका थिए।