विपिन जोशीकी आमा र बहिनीले भेटे परराष्ट्रमन्त्री राणा

विपिन जोशीकी आमा र बहिनीले भेटे परराष्ट्रमन्त्री राणा

काठमाडौं। हमास समूहको नियन्त्राण्मा रहेका नेपाली युवा विपिन जोशीका आमा र बहिनीले परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भेटेर विपिनकी आमा र बहिनीसँग कुरा भएको मन्त्री राणाले जानकारी गराएकी छिन् ।

विपिनको रिहाइमा नेपाल सरकारले जारी राखेको पहलको लागि उनीहरुले धन्यवाद दिएको र आगामी दिनमा थप प्रयत्न गर्नपनि आग्रह गरेको उनले जनाईएकी छिन् । सो क्रममा मन्त्री राणाले विपिनको रिहाइमा नेपाल सरकारले गरेको पहल र जारी राखेको कुटनीतिक प्रयत्नका बारेमा जानकारी दिएकी छिन् । उनीहरुसँगको भेटबारे जानकारी दिँदै मन्त्री राणाले फेशबुकमा लेखेकी छिन्–

हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीकी आमा र बहिनीसँग आज परराष्ट्र मन्त्रालयमा भेटेर कुराकानी गरेँ । उहाँहरुले विपिनको रिहाइमा नेपाल सरकारले जारी राखेको पहलका लागि धन्यवाद दिँदै आगामी दिनमा थप प्रयत्न गर्न आग्रह पनि गर्नुभयो ।परराष्ट्र मन्त्रालयको पहल तथा नेपालस्थित इजरायली राजदूताबासको समन्वय एवं सहयोगमा विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न र इजरायल सरकारलाई अपिल गर्न इजरायल जानुभएको थियो । इजरायलबाट फर्केपछि आज उहाँहरुले मलाई भेटेर यस विषयमा जानकारी गराउनुभयो । मैले उहाँहरुलाई सरकारले विपिनको रिहाइमा गरेका र जारी राखेका कूटनीतिक प्रयत्नका बारेमा जानकारी पनि दिएँ । उहाँहरुको आग्रह बमोजिम नै विपिनको रिहाइका लागि सरकारले आगामी दिनमा थप सशक्त पहल गर्नेछ ।