भारतीय विदेशसचिव मिस्री काठमाडौंमा

भारतीय विदेशसचिव मिस्री काठमाडौंमा

काठमाडौं।  परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडाैं आइपुगेका छन्।  

भ्रमणका क्रममा आजै दुई परराष्ट्र सचिवहरूले कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका अन्य विषयमा केन्द्रित रही नेपाल-भारत साझेदारीका विभिन्न पक्षमा छलफल गर्ने मन्त्रालयले जनाएको छ।

विदेशसचिव मिस्रीले भ्रमणका क्रममा नेपालका उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनी भ्रमण सम्पन्न गरी भोलि भदौ २ गते काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम छ। भारत र नेपालबीच सदैव बलियो र मैत्रीपूर्ण परराष्ट्र सम्बन्ध रहिआएको छ। विदेशसचिव मिस्रीको यो भ्रमणले दुई देशबीच रहिआएको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ,घनिष्ट र मैत्रीपूर्ण बनाउन सहयोग पुग्ने बताइएको छ।