एमाले विभाजनको औचित्य पुष्टि भएनः झलनाथ खनाल

एमाले विभाजनको औचित्य पुष्टि भएनः झलनाथ खनाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) विभाजनको औचित्यता पुष्टि हुन नसकेको बताएका छन्। शनिबार सञ्चारकर्मीहरुसँगको भेटघाटका क्रममा उनले एमाले विभाजन गरेको चार वर्षसम्ममा त्यसको औचित्यता पुष्टि हुन नसकेको बताएका हुन्।

यो चार वर्षमा पार्टी औचित्यता पुष्टि गर्ने ढङ्गले पार्टी अगाडि बढ्न नसकेको उनको भनाइ छ। कार्यदिशा, नीति, सिद्धान्तको आधारमा पार्टी अगाडि बढ्न नसकेको, दक्षिणपन्थी अवसरवादको खण्डन र आलोचना पार्टीले गर्नै नसकेको उनको भनाइ छ । पार्टी नेतृत्वले अरुलाई जिम्मेवारी पनि नदिएको र आफूले पनि काम गर्न नसकेको उनले बताए।

‘विद्रोहको औचित्य स्थापित हुन सकिरहेको छैन। सबैभन्दा मुख्य कुरा त्यो र आम कार्यकर्ता, तपाईँ मेची जानुस्, महाकाली जानुस् । पहाड जानुस्, मधेश जानुस् औचित्य स्थापित गर्ने काम राम्रोसँगले हुन सकेन भन्ने सबैको असन्तुष्टि छ। मैले यही कुरा उठाइदिएको हो । आम कार्यकर्ताको मनोभावना छ, त्यो मनोभावना मैले उठाएको छु र त्यो उठाउने क्रममा हाम्रो आजको जो नेतृत्व हो, त्यो नेतृत्वलाई मैले खबरदारी गरेको पनि छु,’– उनले भने ।

साथै, उनले यहाँसम्म आइपुग्दा अध्यक्ष नेपालमा अध्ययन र वैचारिकताको हिसाबले परिपक्वता नदेखिएको उनको भनाइ छ । ‘यहाँसम्म आइपुग्दाखेरी मैले अध्ययनको हिसाबले पनि, वैचारिक हिसाबले पनि, व्यवहारिक हिसाबले पनि धेरै परिपक्व हुनुहुन्छ होला भन्ने मैले ठाने । त्यो कारणले गर्दा विद्रोह गर्दा तपाईँ नै अध्यक्ष बन्नुस् भने मैले । तर अहिलेसम्म आउँदाखेरी सन्तुष्ट हुन सकिएन,’– उनले भने ।