माओवादी केन्द्रद्वारा स्थायी कमिटी बैठकका एजेण्डा तय

माओवादी केन्द्रद्वारा स्थायी कमिटी बैठकका एजेण्डा तय

काठमाडाैं। नेकपा (माओवादी केन्द्र)ले आउँदो शुक्रवार बस्ने स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको छ।

बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार बसेको पार्टी पदाधिकारी बैठकले शुक्रवारदेखि शुरु हुने स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

उनकाअनुसार स्थायी कमिटी बैठकका एजेण्डाहरुमा पार्टी अभियानलाई निरन्तरता दिने, संगठनलाई बलियो बनाउने र समाजवादी मोर्चालाई थप सक्रिय बनाउने विषय तय भएका छन्। सापकोटाले स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक विषयमा ब्रिफिङ गर्ने पनि जानकारी दिए।

उनले भने, ‘आजको बैठकबाट शुक्रवार बस्ने स्थायी कमिटीको बैठकका एजेण्डा तय गरिएका छन्। कमिटीको बैठकमा पार्टी हेडक्वार्टरको तर्फबाट वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुहुनेछ। त्यसपछि हाम्रो पोखरा आएर रोकिएको अभियान सञ्चालनको बारेमा छलफल हुनेछ। र त्यस्तै केन्द्रीय समितिको बैठकको मिति तय गर्नेबारे छलफल हुनेछ। अहिले समाजवादी मोर्चाका बैठकहरु पनि बसिरहेका छन् । केही समय सुस्ताएको जस्तो भएको थियो। त्यसलाई सक्रिय बनाउने कुरामा पनि स्थायी कमिटी बैठकले छलफल गर्नेछ।’

स्थायी कमिटी बैठकबाट संगठन निर्माण, नेताहरुको कार्यविभाजन लगायत प्रश्ताव पारित गरिने पनि बताए।