म माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिन : विद्या भण्डारी

म माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिन : विद्या भण्डारी

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रिय राजनीतिबाट कोही भयभीत हुन आवश्यक नभएको बताएकी छन्।

आफू सक्रिय राजनीतिमा लागिसकेको बताउँदै उनले पछि हट्ने अवस्था नरहेको बताएकी छन्। साथै, उनले एमालेको नेतृत्व आफूले नछाडने बताइन्। ‘म माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ,’ भण्डारीले भनिन्।

लतिलपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा मंगलबार एमाले केन्द्रीय कमिटीको बैठक चल्दैगर्दा मंगलबार नै दिउँसो काठमाडौंको भंगालस्थित निवासमा सञ्चारकर्मीसँग भण्डारीले भनिन्, ‘म अघि बढिसकें, पछि हट्ने अवस्था छैन, खुट्टा कमाउँदिनँ, बरु मेरो पक्षमा बोल्नेहरूलाई आतंकित पार्न खोजिँदै छ, यस्तो कार्य बन्द गर्नुपर्छ ।’

एमाले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले पार्टीको संगठित सदस्यता नवीकरण गरिसकेकी छन् । तर, पार्टीले उनको सदस्यता होल्डमा राखेको भन्दैआएको छ । यहीबीच उनले आइतबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी थिइन् । ११औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष हुन खोजेका ओलीले भण्डारीलाई पार्टीमा रोक्न खोजेको बताइन्छ ।

तर, भण्डारीले एमालेको सदस्यता नवीकरण गरेर पार्टीको सक्रिय राजनीतिमा आइसकेको भन्दै त्यसबाट आफू पछि नहट्ने स्पष्ट पारेकी छन् । साथै, उनले महाधिवेशन नआई नेतृत्वको बहस गराएर कार्यकर्तालाई विभाजित गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । जिल्ला र प्रदेशदेखि नै ग्रुपिजम गरेर कार्यकर्तालाई आतंकित पार्ने र बोल्न नदिने प्रयास भइरहेको उनले बताएकी छन् ।