रामबहादुर बम्जनले पाए सफाइ

रामबहादुर बम्जनले पाए सफाइ

काठमाडौं। उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनलाई सफाइ दिएको छ। जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरका न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो।

भट्ट र भण्डारीको इजलासले ६ चैत, २०८० मा रामबहादुरसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको हो। उनीहरू दुवैले जिल्ला अदालतमा पनि सफाई पाएका थिए। जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

उच्च अदालत जनकपुरले सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याउँदै बमजनलाई २०८१ चैत ६ गते सफाइ दिएको हो। न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बमजनलाई मुद्दामा सफाइ दिएको अदालतका उप-रजिष्ट्रार सुशील यादवले बताए।

बमजनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो। त्यसविरूद्ध उनले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए। ‘जिल्ला अदालत सर्लाहीले गरेको १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय उच्च अदालतबाट उल्टी भएको छ, अदालतले दाबी नपुग्ने देखिएपछि उक्त मुद्दा नै खारेज भएको छ,’ यादवले भने।

उच्च अदालतले फैसला गरेको बखत बमजन जिल्ला कारागार कार्यालय सिन्धुपाल्चोक थिए। उनलाई अर्की आनी फूलमाया रुम्बा बेपत्ता पारेको मुद्दाको सुनुवाइको लागि सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको थियो। ‘फैसला भएको राति चैत ६ गते हामीलाई पत्र आएको थियो,’ सिन्धुपाल्चोक कारागारका एक कर्मचारीले भने, ‘७ गते यहाँ कारागारबाट जानु भएको हो।’

कारागारबाट मुक्त हुँदा बमजनलाई उनकी श्रीमती दीपशिखाले बुझेकी थिइन्। ती कर्मचारीका अनुसार रुम्बा बेपत्ता प्रकरणमा सिन्धुपाल्चोक अदालतले कात्तिक २५ गते धरौटीमा रिहा गरेको थियो।

बमजनलाई तीन लाख धरौटीमा सिन्धुपाल्चोक अदालतले रिहा गर्ने आदेश दिएको थियो। सिन्धुपाल्चोकको मुद्दाको प्रारम्भिक सुनुवाइ सकिए पनि उनी त्यहीँ कारागारमा थिए। सिन्धुपाल्चोकको बाडेगाउँबाटै बेपत्ता पारिएका अर्का अनुयायी सञ्चलाल वाइबाको मुद्दा सरकारी वकिल कार्यालयले अघि बढाएको थिएन।

यसअघि २०८१ साउन ८ गते बमजनको आश्रमबाट बेपत्ता भएकी अर्की आनी चिनिमाया तामाङ बेपत्ता पारिएको कसुरमा नुवाकोट जिल्ला अदालतले बमजनलाई साधारण तारिखमा रिहा गरिसकेको थियो। बमजनविरूद्ध एउटा निवेदन बारामा छ। जितपुर सिमरा उपमहानगरपालिका-१८ (हालको ठेगाना) बडहर्वाका सुरेशकुमार आले बेपत्ता प्रकरणमा बारा प्रहरीमा आफन्तले २०८० मंसिरमा निवेदन दिएका थिए। त्यो निवेदन अझैसम्म दर्ता भएको छैन।

सर्लाही बागमती नगरपालिका-१२ की रिता बोट बेपत्ता प्रकरणको उजुरी परेको थियो। त्यो उजुरी के भयो भन्ने सर्लाही प्रहरीले बताउन सकेको छैन। बमजनविरूद्ध २०८१ फागुनमा जिल्ला अदालत सर्लाहीमा ८ करोड २७ लाख रुपैयाँ गैरकानुनी तरिकाले आर्जन गरेको सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो। बमजनविरूद्धको सम्पत्ति शुद्धीकरण मुद्दा किनारा लागिसकेको छैन।

कारागारबाट छुटेपछि बमजन कहाँ गए प्रहरीले खोजी गरेको छैन। बमजनको घर बूढानीलकण्ठ नगरपालिका-६ हात्तीगौंडा हो।

बमजनको स्थायी ठेगाना बारा निजगढ नगरपालिका-१२ हो। ३० वर्षीय उनको वास्तविक नाम रामलाल बमजन हो। २०८० पुस २५ गते केन्द्रीय अनुसन्धान ब्युरोले बमजनलाई हात्तीगौंडास्थित घरैबाट पक्राउ गरेको थियो