काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मध्यपश्चिम नेपालमा चट्याङ सहित पानी परिरहेको जनाएको छ । दाङ, रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम, सल्यान र जाजरकोटमा चट्याङ सहित पानी परिरहेको महाशाखाले जनाएको हो ।
सो वर्षा केही समयपछि पूर्वतिर ( लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई क्षेत्र) सर्दै जाने महाशाखाले उल्लेख गरेको छ । सो अनुसार सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
महाशाखाले अबको दुई दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । यो अवधिमा मुसुरो, गहुँ लगायतका बाली अहिले नकाट्नु किसानलाई सुझाइएको छ । मौसमविद् हरि प्रसाद दाहालले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको बताएका हुन । मुसुरो, गहुँ लगायत हिउँदे बाली अहिले नकाट्न अनुरोध गरेका हुन् ।
पछिल्लो हप्ता परेको पानीबाट प्रभावित गहुँ, मुसुरो खेतबाट पानी निकासको व्यवस्था गर्ने, काट्न बाँकी रहेको भए एक–दुई दिन सुक्न दिने, काटिसकेको भए अग्लो/उकास ठाउँ अथवा सेडभित्र सुकाउने, काट्नुपर्ने भए मौसमको अवस्था हेरी खेतमा नछोड्ने गरी भित्र्याउन सुझाएको छ ।