पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, कहाँ कहाँ हुन्छ आज वर्षा ?

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, कहाँ कहाँ हुन्छ आज वर्षा ?

काठमाडौँ । हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगलाको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

यसैगरी राती कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशलगायत बागमती ,गण्डकी ,कर्णाली  र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ। विभागका अनुसार आज ताप्लेजुङ,जिरी,काठमाडौं,पोखरा,डडेलधुरालगायतका स्थानमा हल्का पानी पर्ने सम्भावना छ। धनगढीमा सबैभन्दा बढी तापक्रम (३७ डिग्रीसम्म) पुग्ने अनुमान गरिएको छ। सबैभन्दा कम तापक्रम आज राती जिरी र जोमसोममा (पाँच डिग्रीसम्म) पुग्ने देखिन्छ।