पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, फेरि भित्रँदैछ पानी पार्ने प्रणाली

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, फेरि भित्रँदैछ पानी पार्ने प्रणाली

काठमाडाैँ । अहिले देशभरको मौसममा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मध्याह्न काठमाडौं उपत्यकासहित देशका केही स्थानमा घाम लागिरहेको छ।

कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था छ। मंगलबार दिउँसो ताप्लेजुङ, ओखलढुंगा, जिरी, पोखरा लगायतका सहरमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। 

मंगलबार धनगढीमा सबैभन्दा बढी तापक्रम (३७ डिग्रीसम्म) पुग्ने सम्भावना रहेको महाशाखाले बताएको छ। त्यस्तै सबैभन्दा कम तापक्रम मंगलबार राति जिरीमा (चार डिग्रीसम्म) पुग्ने देखिन्छ।
मौसमविद् विनोद पोखरेलले मंगलबार र बुधबार वर्षाको सम्भावना कम रहेको बताएका छन्। उनले बिहीबारदेखि आइतबारसम्म धेरै ठाउँमा वर्षा हुने प्रक्षेपण गरेका छन्।

अहिले देशका तराई र पहाडी भेगहरूमा गहुँ बाली भित्र्याउने बेला भएको छ। त्यस्तै दलहन र तेलहन बाली पनि भित्र्याउने तयारी किसानहरूले गरिरहेका छन्। अर्को साताको सोमबारदेखि वर्षाको सम्भावना घट्ने भएकाले त्यपछि मात्रै भित्र्याउन उपयुक्त हुने बताएका छन्। ‘गहुँ बाली भित्र्याउने सोचमा हुनुहुन्छ भने कि आज र भोलि नत्र अर्को हप्ता राम्रो देखिन्छ,’ उनले भनेका छन्।

जल तथा मौसम विज्ञान विभागले पनि मंगलबार र बुधबार रातिपख उघ्रिएजस्तो हुने, बिहान घाम लाग्ने र दिउँसो पानी पर्ने सम्भावना औंल्याएको छ। विभागका अनुसार बिहीबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको छ।

छुटाउनुभयो कि ?