काठमाण्डौ : सुनको भाउ बिहिबार तोलामा २ सय रुपैयाँले बढेको छ । सुन तोलाको ७९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएको सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर तोलाको अहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ मङ्गलबार र बुधबार भने घटेको थियो । सुन मंगलबार तोलामा तीन सय रुपैयाँ र बुधबार तोलामा पाँच सय रुपैयाँले घटेको हो ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढेपछि पछिल्लो केही दिनयता अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ महँगो भएको महासङ्घले जनाएको छ ।
बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर तोलाको ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।