काठमाडौँ फेरि विश्वकै प्रदूषित सहर

काठमाडौँ फेरि विश्वकै प्रदूषित सहर

काठमाडौं । काठमाडौं मंगलबार (चैत १९) विश्वकै ‘सर्वाधिक प्रदूषित’ सहर बनेको छ । वायुको गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरको सूचकांकले विश्वका १२४ मध्ये काठमाडौं सर्वाधिक प्रद्रूषित भएको देखाएको छ ।

मंगलबार बिहान ११ः३० बजे काठमाडौंको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २५६ पुगेको आईक्यू एयरको तथ्यांक छ । आइतबार र सोमबार पनि काठमाडौं खराब वायु भएका सहरको सूचीमा एक नम्बरमा नै थियो ।

यो सूचीको दोस्रो नम्बरमा रहेको भारतको दिल्लीको एक्यूआई १९२ छ । तेस्रो नम्बरमा रहेको थाइल्यान्डको च्याङमाईको एक्यूआई १६४ मापन भएको छ । स्वास्थ्यका हिसाबले काठमाडौं ‘अति अस्वस्थकर’ बनेको छ । अरू सहर ‘अस्वस्थकर’ छन् ।

वातावरण विभागका अनुसार, काठमाडौं उपत्यकाका शंखपार्क र रत्नपार्क, ललितपुरका खुमलटार र भैँसेपाटी, भक्तपुर, इलाम र धनगढीमा वायु प्रदूषण उच्च छ । ती स्थानको एक्यूआई १५० देखि १९३ सम्म छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।