काठमाडौँ । विपक्षी चार दलको समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ ।
नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा आज (शुक्रबार) बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो । एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै मोर्चाले प्रदर्शन अगाडि शनिबार बिहान ११ बजेबाट बुद्धिजीवी, नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने निर्णय पनि गरेको छ ।
संसदमा रहेकासँगै बाहिर रहेका दलहरूसँग छलफल गर्ने र गणतन्त्र रक्षा तथा समाजवादतिरको यात्रालाई सहज बनाउने वातावरण निर्माण गर्ने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।
मोर्चा गणतन्त्र पक्षधरलाई एक ठाउँमा ल्याएर जनप्रदर्शन गर्ने तयारीमा छ । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत राजसंस्था पक्षधर समूहले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौंमा प्रदर्शन गरेपछि मोर्चाले पनि गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो ।
त्यसका लागि शनिबार दिउँसो २ः३० बजेपछि पत्रकार सम्मेलनमार्फत् जनतालाई अपिल गर्ने मोर्चाको तयारी गरेको छ ।