काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रको पक्षमा काठमाडौंमा भएको प्रदर्शनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर देखाउने प्रदीप विक्रम राणा भारत पुगेका छन् । भारतीय सञ्चारमाध्यमलाई उनले नेपालमा आफूलाई प्रहरीले खोजिरहेको बताएका छन् ।
फागुन २५ गते काठमाडौंमा राजतन्त्रपक्षधरले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा देखिएको पूर्वराजा ज्ञानेन्द्र र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिरसहितको पोस्टर ‘भाइरल’ भएको थियो ।
योगी आदित्यनाथको तस्बिर रहेको ब्यानरमा ‘राज संस्था पुनःस्थापना गरौँ । हिन्दुवादी प्रदीप विक्रम राणा’ लेखिएको थियो । यस्तै पूर्वराजा ज्ञानेन्द्रको तस्बिर रहेको पोस्टरमा पनि राणाको नाम थियो ।
यो ब्यानर प्रदर्शनमा लैजाने राणा मंगलबार भारतको गोरखपुर पुगेका हुन् । उनले प्रदर्शनमा योगी आदित्यनाथको ब्यानर प्रयोग भएको विषयमा अनेकौँ टिकाटिप्पणी भइरहेको र प्रहरीले नै आफूलाई खोजेपछि भारतमा शरण लिन पुगेको बताएका छन् ।
प्रदर्शनमा विदेशी नेताको तस्बिर प्रयोग भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यसको विरोध गरेको उनको भनाइ छ । आदित्यनाथसँग मिलेर आफूले वर्तमान सरकारविरुद्ध षडयन्त्र गरिरहेको आशंका प्रहरीले गरेको उनले बताएका छन् ।
को हुन् प्रदीप विक्रम राणा ?
काठमाडौंका ५८ वर्षीय राणाका बुवा नेपाली सेनाका जागिरे थिए । उनी सुरुदेखि नी राजनीतिमा लागेको नवभारत टाइम्सले उल्लेख गरेको छ । राणाकी एक छोरी पाइलट र छोरा डाक्टर छन् ।
उनले आफ्नो परिवार सम्पन्न रहेको तर दुःखका साथ लुकेर भागेको बताएका छन् । नेपालमा राजतन्त्र फिर्ता ल्याउने र हिन्दु राष्ट्र बनाउने अभियानमा आफ्नो अन्तिम सास रहँदासम्म लड्ने उनले भनेका छन् ।
आदित्यनाथलाई भेटेको छैन
उनले हालसम्म योगी आदित्यनाथलाई नभेटेको बताएका छन् । आदित्यनाथले हिन्दु र हिन्दुत्वका लागि गरिरहेको योगदानकै कारण आफूले उनलाई रुचाएको राणाले बताएका छन् । धार्मिक आस्थाका कारण आफूले योगी आदित्यनाथलाई रुचाउने उनको भनाइ छ ।
उक्त पोस्टर बनाउन र देखाउन कसैले परिचालित नगरेको राणाको भनाइ छ । वर्तमान सरकार नहटेसम्म नेपाल नर्फकने उनले बताएका छन् ।