काठमाडौं। नेकपा (माओवादी केन्द्र) सहित चार दल आवद्ध रहेको समाजवादी मोर्चाले प्रतिगामी हर्कको खिलाफमा हजारौं जनता काठमाडौंमा उतारेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। आज (मंगलबार) बसेको मोर्चाको बैठकले आगामी चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा र प्रतिगामी हर्कतको खिलाफमा हजारौं जनता उतारेर विरोध प्रदर्शन गर्ने निर्णय भएको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए।
साथै, देशको पछिल्लो राजनीतिक परिस्थितिलाई बैठकले गम्भीर रुपमा विश्लेषण गरेको पनि उनले बताए । ‘देशको पछिल्लो राजनीतिक परिस्थिति जो छ, त्यसको बारेमा गम्भीर विश्लेषण गरेको छ । एउटा वस्तुगत निश्कर्ष निकालेको छ र यो स्थितिलाई ट्याकल गर्नका निम्ति केही कार्यक्रम र योजनाहरु तय गरेको छ,’– बैठकपछि निर्णय सार्वजनिक गर्दै उनले बताए ।
साथै, मोर्चाले नेपाली जनताले आफ्नो व्यवस्था, मुक्ति र स्वाधीनताको निम्ति धेरै ठूलो संघर्ष गरेर प्राप्त गरेको र स्थापित गरेको गणतन्त्रको विरुद्धमा गम्भीर षड्यन्त्र सुरु भएको निश्कर्षसमेत निकालेको छ । नेता विश्वकर्माका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ विकसित कसरी गर्ने, अहिलेको समस्याहरु जे–जस्ता छन् त्यसलाई कसरी समाधान गर्ने र व्यवस्था अझ यो भन्दा कसरी उन्नत बनाउने भनेर चिन्तन गरिरहेका जनताले इतिहासमा तिरस्कृत भइसकेको राजतन्त्रलाई स्वीकार नगर्ने मोर्चाको निश्कर्ष छ ।
मोर्चाले जनताले तिरस्कार गरिसकेको राजा र राजतन्त्रलाई फेरि पुनर्स्थापित गर्ने हर्कतलाई ‘ठूलो धृष्टता, देश र जनताको विरुद्धमा ठूलो प्रतिगामी षड्यन्त्र; संज्ञा दिएको छ । काण्डले अहिलेको परिस्थितिलाई सशक्त रुपमा प्रतिकार गर्नका निम्ति आम नेपाली जनताको बीचमा समाजवादी मोर्चाको तर्फबाट अपिल गरिने पनि बताए । उनले यस्ता विषयमा जनताको बीचमा परामर्श पनि जरुरी रहेको बताउँदै आगामी चैत १ गते विहान नेपालका बुद्धिजीवी नागरिक समाजसँग परामर्श र छलफलको कार्यक्रम तय भएको पनि बताए ।