काठमाडौं। कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ। आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस भएको थियो। भूकम्पको धक्काले बिहानीको मस्त निद्रा खलबलाइदिएको थियो। भूकम्पले क्षति पुर्याए/नपुर्याएको जानकारी प्राप्त हुन सकेको छैन।
गण्डकी प्रदेशमा तीन दिनको अवधिमा गएको यो तेस्रो भूकम्प हो। यसअघि फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४.१ र म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
फागुन २४ गते नै चीनको तिब्बतस्थित सिगात्सेको दिङ्गी केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प जाँदा नेपालको केन्द्रीय राजधानी काठमाडौं सहितका जिल्लामा पनि धक्का महसुस भएको थियो।