काठमाडौँ । स्टार स्पिनर सन्दीप लामिछाने प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा छुट्ने भएका छन् । स्वास्थ्य अवस्थाका कारण उनले यो प्रतियोगिता खेल्न नसक्ने भएका हुन् ।
बाग्मती प्रदेशले हिजो नियमित कप्तान सन्दीपलाई बाहिर राखेर टिम घोषणा गरेको थियो । घोषित १५ सदस्यीय टोलीमा पृथु बास्कोटालाई कप्तान बनाइएको छ । सन्दीपले आफू खेल्न असमर्थता जनाएपछि पृथुलाई कप्तानी दिइएको हो ।
गत माघ ९ गते सन्दीपले हर्नियाको शल्यक्रिया गराएका थिए । सो पश्चात् उनी पूर्णरुपमा फिट भइसकेका छैनन् । उनलाई चिकित्सकले अझै केही दिन मैदानमा नफर्किन सुझाव दिएको स्रोतले बतायो ।
‘उहाँ सामान्यरुपमा हिँडडुल गर्न त सक्नुहुन्छ । तर, मैदानमा बलिङ, फिल्डिङ गर्दा समस्या उत्पन्न हुन सक्ने भनेर डाक्टरले नखेल्न सुझाव दिनुभएको थियो । पूर्णरुपमा फिट हुन अब बढीमा एक महिना लाग्छ होला’ स्रोतले भन्यो ।
केही समयमा अन्तर्राष्ट्रिय म्याच खेल्नुपर्ने भएकाले पनि अहिले सन्दीपले रिस्क लिन चाहेका छैनन् । प्रधानमन्त्री कप फागुन २५ देखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन मैदानमा आयोजना हुँदैछ । यस प्रतियोगितामा ७ प्रादेशिक र ३ विभागीय गरी १० टोलीको सहभागिता छ ।