कोटीहोम क्षेत्रमा हतियार बोकेको समूह तैनाथ, बाहिर प्रहरी परिचालन

कोटीहोम क्षेत्रमा हतियार बोकेको समूह तैनाथ, बाहिर प्रहरी परिचालन

पोखरा ।  मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि कोटीहोम क्षेत्रमा रड र हतियार बोकेको समूह तैनाथ गरिएको छ ।

केहीबेर अघि भूमिपुजन  गर्ने पक्ष र गर्न नदिने पक्षबिच झडप भएपछि कोटीहोम आयोजक पक्षले  रड र हतियार बोकेको समूह तैनाथ गरेको हो ।  पोखरा महानगरको अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न महानगरले कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको छ ।  ‘कार्यक्रमको अनुमति महानगरले दिएको छैन । अनुमति विना कार्यक्रम हुन सम्भव छैन,’ मेयर धनराज आचार्यले भने, ‘भूमिपुजन हामी रोक्छौं।’ नगरप्रहरी लेकसाइड पुगिसकेको छ । 

५० जना नगरप्रहरी लेकसाइडमा खटाइएको महानगरले जनाएको छ । फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको हो । पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गरेको छ । फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् ।