काठमाडौं। गौशला धर्मशाला सञ्चालनको जिम्मा मारवाडी सेवा समितिले नै पाएको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको संयुक्त इजलासले धर्मशालाको सञ्चालन मारवाडी सेवा समितिले नै गर्न पाउने फैसला गरेको हो। यो संगै काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच भएको सम्झौता खारेज भएको छ।
कोषले मारवाडी सेवा समितिसँगको सम्झौता रद्द गरेको थियो। सो विषयमा काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत चलेको थियो। काठमाडौं जिल्ला अदालतले कोषको पक्षमा फैसला गरेसँगै महानगरसँग अर्को सम्झौता गरिएको थियो।
माथिल्लो अदालतमा पुनरावेदन जाने समय बाँकी छँदै कोष र महानगरबीच सम्झौता भएको भन्दै मारवाडी सेवा समितिले आपत्ति जनाउँदै आएको थियो।