काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङले आफूलाई सरकारले कार्यसम्पादनमा मूल्याङ्कनमा शून्य दिएको कुराले कुनै माने नराख्ने बताएका छन्।
बुधबार नेपाल विद्युत प्राधिकरणको लुम्बिनी प्रदेश प्रादेशिक कार्यालय बुटवलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सय वा शून्य अंकले केही फरक नपार्ने बताएका हुन्। ‘मलाई शून्य दिएपनि, सय दिएपनि त्यसले पनि माने राख्दैन,’ उनले भने।
साथै, सरकारले आफूलाई आज हो कि भोलि हो गरेर हटाउने भन्ने हल्ला आइरहेको उनले बताए। आफूले अन्तिम मिनेटसम्म जिम्मेवारीमा रहेर काम गर्ने उनले बताए। सरकारले अहिलेसम्म आफूलाई ५÷६ वटा स्पष्टीकरण सोधिसकेको र त्यसमा जवाफ पनि पठाएको उनले बताए।
‘आज हो कि भोलि हो भन्ने हल्ला तपाईँहरुले सुन्नुभएको होला । तर, भएपनि लास्ट मिनेटसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मलाई ५-६ वटा स्पष्टीकरण सोधियो होला। जवाफ दिए होला, त्यसले माने राख्दैन,’ उनले भने।