कोे थिए मन्त्री बाँस्कोटाका योजनाकार

कोे थिए मन्त्री बाँस्कोटाका योजनाकार

काठमाडौँ : सेक्युरिटी प्रेस स्थापनाका लागि घूस मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै अर्का एक पात्र पनि चर्चामा रहेका छन्– सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल । उनी चर्चामा आउनुको कारण हो– प्रेस स्थापनाका लागि खेलेको शंकास्पद भूमिका ।

सेक्युरिटी प्रेसमा उनको भूमिकाका विषयमा संसद्को लेखा समिति बैठकमा बिहीबार सांसदहरूले प्रश्न गर्दा पौडेल नाजवाफ भएका थिए । त्यसको केही समयमै सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिए । थप यस्तै प्रश्नको सामना गर्नुपर्ला भनेर हुन सक्छ, त्यही राति पौडेल अमेरिका उडेका छन् ।

मन्त्रालय स्रोतका अनुसार पौडेलकी पत्नी, छोरा र छोरी अमेरिकामै बसोबास गर्छन् । १० दिने बिदा स्वीकृत गराएर गएको भए पनि चिकित्सक पत्नीको अमेरिकी ग्रिनकार्ड रहेकाले उनी उतै बस्ने अनुमान गरीएको छ । ‘उनको पनि ग्रिनकार्ड हुन सक्छ,’ उनीसँगै सुरक्षण मुद्रण केन्द्रमा काम गरेका एक पूर्वकर्मचारीले भने ।

पौडेल २०७४ असारमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक नियुक्त भएका थिए । त्यसअघि उनी केही वर्ष राष्ट्रिय सूचना प्रविधि केन्द्रको सहायक निर्देशक थिए । केन्द्रको सहायक निर्देशकका रूपमा उनी मेसिन रिडेबल पासपोर्ट (एमआरपी)खरिद प्रक्रियामा सहभागी भएका थिए ।

त्यतिबेला पनि उनको भूमिका शंकास्पद रहेको लेखा समिति सदस्य धर्मशिला चापागाईंले बताइन् । ‘शेरबहादुर देउवा नेतृत्वको सरकारमा मोहनबहादुर बस्नेत सूचना तथा सञ्चारमन्त्री हुँदा पौडेल खुला प्रतिस्पर्धामार्फत सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक नियुक्त भएका हुन् । खुला प्रतिस्पर्धा भनिए पनि उनलाई केन्द्रमा ल्याउन पहिल्यै तयारी थियो ।