काठमाडौँ । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ। झडपमा परेर प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गंगा पौडेल घाइते भएका छन् भने १२ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार डीएसपी पौडेलको टाउको चोट लागेको छ। पौडेलको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको प्रवक्ता बोहराले जानकारी दिए।
परम्परागत पोशाकमा सजिएका उनीहरूले लामो समयदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्। २०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति विरोधमा उत्रिएका हुन्। उनीहरूले दुई बुँदे सहमति कार्यान्वयन हुनुपर्ने प्रमुख माग राखेका छन्।