सरकारले भूमिसम्बन्धी अध्यादेश पारित गराउन सांसद खरिद बिक्री गर्न लागेको उपेन्द्र यादवको दाबी

सरकारले भूमिसम्बन्धी अध्यादेश पारित गराउन सांसद खरिद बिक्री गर्न लागेको उपेन्द्र यादवको दाबी

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी अध्यादेश पारित गराउन सरकारले सांसद किन्न खोजेको आरोप लगाएका छन् । आज (शुक्रबार) जसपा नेपालले अध्यादेशको सम्बन्धमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भूमाफियाहरुले सरकारलाई अर्ब पैसा खर्च गरेर भनेपनि सांसद किनेर अध्यादेश पारित गराउन दवाब दिइरहेको बताएका हुन् ।

‘दाउपेच, जालझेल, संसद् खरिदविक्री गरेर, अहिले माफियाहरुले भन्दैछन् रे, सुनेको मैले कति करोड चाहिन्छ ? अर्ब नै चाहिन्छ भनेपनि व्यवस्था गर्छौं । किन्नुस् सांसद र पास गराउनुस् र हामीलाई जंगलको जग्गा दिनुस् भनेर लागेको छन् अरे । त्यो धन्दामा लाग्नुजस्तो देशघाती काम केही पनि हुँदैन,’– उनले भने ।

सरकारले शिक्षाको सु्धार, भूमिलाई आधुनिकीकरण गर्ने, मलखाद, सिचाइँ र विउविजनको प्रबन्ध गर्ने, कृषि उत्पादन बढाउने, गरिबी, बेरोजगारी समस्या समाधान गर्नेतिर ध्यान नदिएर माफियाहरुसँग मिलेर तिनको पैसा लिने, पार्टी फुटाउने र सांसद किन्ने ध्याउन्नमा रहेको उनले बताए । उनले भूमिसम्बन्धी अध्यादेशमा सांसद् खरिदविक्रीको चलखेल भइरहेको उनको आरोप छ ।

सांसद किनबेच गरेर भूमिसम्बन्धी अध्यादेश पारित गराए आफूहरु जनआन्दोलनमा जाने उपेन्द्रको चेतावनी छ ।