ठुलो संख्यामा वाग्मती प्रदेशले कर्मचारी भर्ना गर्ने

ठुलो संख्यामा वाग्मती प्रदेशले कर्मचारी भर्ना गर्ने

काठमाडौं : वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जनाएको छ ।

आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आवको असार मसान्तसम्ममा प्रदेश र स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारीमध्ये केही संख्यामा मात्रै भए पनि कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जानकारी दिए ।

उनले प्रदेशमा थुप्रै पद खाली भएको उल्लेख गर्दै आवश्यकता र प्राथमिकताका आधारमा भर्ना प्रक्रिया अगाडि बढाइने बताए । कर्मचारीले विभिन्न कारणले राजीनामा दिएका कारण पनि हाल प्रदेशमा ठूलो संख्यामा विभिन्न पद रिक्त रहेको जनाइएको छ ।

तह बढुवा गर्नका लागि मात्रै प्रदेश र स्थानीय तह रोजेका कर्मचारीले धमाधम राजीनामा दिन थालेका जनाइएको छ । यसरी राजीनामा आउन थालेपछि प्रदेश र स्थानीय तहमा कर्मचारी अभावका कारण काम गर्न समस्या भइरहेको छ ।

उक्त समस्या समाधानका लागि प्रदेशको लोकसेवा आयोगले असार महिनासम्म पहिलो चरणमा कर्मचारी भर्ना गर्न लागेको हो । उनले प्रदेश र स्थानीय तहमा जुन पदमा धेरै कर्मचारी आवश्यक छ त्यही पदमा पहिलो चरणमा कर्मचारी भर्ना गरिने बताए ।

यसैबीच प्रदेशमा आइसकेका एक सयभन्दा बढी कर्मचारीले राजीनामा दिएका छन् । संघीय सरकार मातहत रहेका कर्मचारी प्रदेश मातहत आउने अनि राजीनामा दिने क्रम बढेर गएको छ । संघबाट प्रदेशमा आउँदा कर्मचारी २ तहसम्म बढुवा भएका थिए ।

बढुवा भएपछि राजीनामा दिँदा उपदान रकम पनि बढी आउने भएकाले प्रदेशमा आएर राजीनामा दिने प्रचलन बढ्न थालेको हो ।