काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूखुसी अघि बढ्न खोजको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले सञ्चालक समितिको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफूखुसी अघि बढ्न खोजको आरोप लगाए । कुलमानले सरकारलाई नटेरेको पनि उनले बताए ।
घिसिङको अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने उनले उल्लेख गरे । राम्रो कामलाई पुरस्कार दिने भन्दै उनले सरकारका एउटा कर्मचारीको पक्षमा एक भएर बोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे । मन्त्री खड्काले पटक पटक बोर्ड बैठक बोलाउँदा उपस्थित नहुँदा सदस्य परिवर्तन गर्नुपरेको स्पष्ट पारे ।
उनले कुलमानका कारण लोडसेडिङ हटेको भनेर भ्रम फैलाइएको उल्लेख गरे । तत्कालीन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको उनले स्पष्ट पारे । बाढीका कारण १३ अर्बको क्षति भएको भन्दै खड्काले तत्काल विद्युत् प्रवाहलाई सहज ढंगले सुचारु गरिएको दाबी गरे ।
खड्काले दोधारा(लम्की, बरेलीढल्केबरलगायत आठवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने गरी भारत सरकारसँग सम्झौता भएर काम अघि बढेको बताए । उनले ऊर्जा क्षेत्रमा आवश्यक कानुन तर्जुमाका क्रममा रहेको बताउँदै केही विधेयकहरू अघि बढिसकेको पनि जानकारी दिएका छन् ।