काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक जारी छ । मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (सांसद) सुमना श्रेष्ठले शून्य समयमा बोल्नका लागि नाम टिपाएकी थिइन् ।
उनलाई बोल्नका लागि सभामुख देवराज घिमिरेले समय दिए । एमाले सांसद सुनिता बरालले आफ्ना कुरा राखेपछि सभामुख घिमिरेले सांसद श्रेष्ठलाई बोल्न समय दिए ।
तर, सांसद श्रेष्ठ बोलिनन् । सांसद श्रेष्ठ मंगलबारको प्रतिनिधिसभा बैठकमा भने उपस्थित थिइन् । तर, उनले सभामुख घिमिरेले दिएको समयलाई बेवास्ता गरिदिइन् । सभामुख घिमिरेले उनलाई तीन पटकसम्म नाम बोलाएका थिए । तर, उनले कुनै प्रतिक्रिया नदिएपछि सभामुखले माओवादी सांसद सुशिला श्रीपाली ठकुरीलाई बोल्न समय दिए ।
यसअघि सोमबारको बैठकको आकस्मिक समयमा सांसद श्रेष्ठले बोल्न समय माग गरेका थिइन् । तर, सभामुख घिमिरेले आफूलाई बोल्न नदिएको भन्दै उनले रोष व्यक्त गरेकी थिइन् । भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्युबारे कुरा उठाउन खोज्दा सभामुख घिमिरेले समय नदिएको उनको गुनासो थियो ।