काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध नेपाली जनताको युगान्तकारी अभियान र कीर्तिमान कायम गर्ने युद्ध रहेको बताएका छन् । आज (बिहीबार) जनयुद्ध दिवसको अवसरमा माओवादीले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्ध ऐतिहासिक रहेको र यसलाई इतिहासबाट कसैले मेटाउन नसक्ने बताए । जनयुद्धलाई जसले मेटाउने दुस्साहस गरेपनि त्यो खरानी हुने उनको चेतावनी छ ।
‘जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक कुचेष्टा पनि भएका छन् । हामीले जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रुपमा, एउटा महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रुपमा हामीले निरन्तर प्रयास गर्नुपर्दछ । मलाई के विश्वास छ भने– हजारौं सहिदहरुको बलिदानबाट सिञ्चित यो प्रक्रिया, हजारौं बेपत्ताहरुको त्याग र तपस्याबाट सञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रिmयामा सयौंसयौं वर्षसम्म रहने छ । कसैले मेटाएर यो मेटिने छैन । जसले मेटाउने दुस्साहस गर्छ उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ,’– उनले भने ।
‘प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यता र जनाधिकार रक्षा गर्न निरन्तर सङ्घर्ष गरिरहने पनि बताए । उनले अहिले संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयास भइरहेको र त्यसलाई निस्तेज पारिने बताए । ‘अहिले पनि दुई वर्ग र प्रवृत्तिका बीचमा सङ्घर्ष चलिरहेकै छ । हामीले धेरै वर्ष पहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि यसलाई जनताको गणतन्त्र हुन नदिने प्रयास हुनेछ भनेर आकलन गरेका थियौँ, आज त्यही स्थिति बनेको छ । एकथरि तत्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासमा छन् तर हामी यसलाई समाजवादी गणतन्त्रमा लगेरै छाड्छौँ,’– अध्यक्ष प्रचण्डले भने ।
माओवादीलेसमुदायतर्फ फर्कदै जनताका ‘एजेण्डा’लाई दृढतापूर्वक अघि बढाउने र जनतासँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेको उनले बताए । राजनीतिक तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि जनताले महसुस गर्नेगरी उनीहरुको जीवन परिवर्तन गर्ने प्रयासमा पार्टी जुट्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिए ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सशस्त्र सङ्घर्ष सुरु गरेको थियो । सोही दिनको सम्झनामा माओावदी केन्द्रले आज ३०औँ जनयुद्ध दिवस मनाउको हो । त्यसअवसरमा अध्यक्ष प्रचण्डलगायत माओवादी नेताहरुले पार्टी कार्यालय परिसमा रहेको सहिद स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।