काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यादेश पारित नहुने स्थिति भएपछि कांग्रेस र एमाले सरकारमै बसिरहन नमिल्ने जिकिर गरेका छन् ।
नेता खनालले अगाडि भने, ‘अहिले गठबन्धन सरकार अध्यादेशमार्फत शासन गर्न खोज्दैछ । त्यसको के जरुरत छ ? दुइटा पार्टीले एउटा विधेयक पनि ल्याउन नसक्ने के परिस्थिति बनेको छ यो देशमा ? कुन संकटको भूमरीमा छ देश ? कानूनमार्फत पनि विधेयक ल्याउन सकिन्थ्यो नि र अब अध्यादेशहरू ल्याइएको छ । अध्यादेश संसदबाट पास हुन्छन् भन्ने कुनै पनि ग्यारेन्टी छैन । दुवै सदनमा बहुमत छैन । फेरि पनि सरकारमै दुई दल बसिरहन मिल्छ कि मिल्दैन ?’
उनले आफू एमालेमा फर्किँदैछ भनेर कुप्रचार भएको टिप्पणी गरेका छन् । समाजवादी प्रेस संगठन नेपाल उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफू एमालेमा फर्किने कुनै सम्भावना नरहेको बताए ।
उनले भने, ‘मतिभ्रष्ट भएकाहरुले म एमालेमा फर्किँदैछ भनेर कुप्रचार गरेका हुन् । म आफ्नो विचार, नीति र सिद्धान्तमा प्रस्ट छु ।’
नेता खनालले साना पार्टीहरुको कारणले अस्थिरता भयो भन्दै फुटाउन अध्यादेश ल्याए ठूला दलहरु नै फस्ने दाबी गरे । उनले भने, ‘हामी च्यालेन्ज गर्छौँ, साना पार्टी फुटाउने षड्यन्त्र ठूला पार्टीले गर्दैछन् । त्यसको खाल्डोमा ती ठूला पार्टी नै पर्छन् ।’