काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरङ्कुश सोँचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको बताएका छन् ।
प्रतिनिधि सभाको आज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । नागरिकलाई पाइलैपिच्छे जेल र जरिवानाको तरबार झुन्ड्याइएको उनको भनाइ छ ।
उनले भने, ‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरङ्कुशतातिर अग्रसर हुने त होइन ? आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ । राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ । ’
उनले थप भने, ‘अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र सङ्कुचित गर्न खोजिँदै छ । सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?’