पाथीभरा केवलकार विवाद : सरकार र आन्दाेलनरत पक्षबीच छलफल सुरु

पाथीभरा केवलकार विवाद : सरकार र आन्दाेलनरत पक्षबीच छलफल सुरु

झापा। करिब दुई साता अघिदेखि मुकुम्लुङ (पाथीभरा) मा केवलकारको विपक्षी समूहले चार सदस्यीय वार्ता सहजीकरण समिति गठन गरेको छ । आन्दोलनरत पक्षले सरकारसँग वार्ताका लागि सहजीकरण गर्न अमर तुम्याहाङ संयोजक रहेको समिति गठन गरेको हो ।

आन्दोलन त्यागेर आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको भोलिपल्ट राम मादेन, सरस्वता सिंघक (सरु) र शंकर सुब्बा सदस्य रहेको वार्ता सहजीकरण समिति गठन गरेको हो ।

सरकारले हिजो गृह मन्त्रालयका सहसचिव प्रेम भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । आन्दोलनरत पक्षले संघीय सरकारसँग मात्रै वार्ता गर्ने अडान राखेपछि सहसचिव भट्टराईको संयोजकत्वमा सरकारले वार्ता टोली गठन गरेको हो ।

गृह मन्त्रालयले शनिबार सहसचिव भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । उक्त टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधिसमेत रहेका छन् ।

गृह मन्त्रालयले वार्ता टोली गठन गरेपछि आन्दोलनरत पक्षले मुक्कुम्लुङ (पाथीभरा) संरक्षक संस्था र राजनीतिक दलसम्मिलित वार्ता सहजीकरण समिति गठन गरेको थियो ।

आन्दोलनरत पक्षले आज एक विज्ञप्तिमार्फत प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शङ्कर लिम्बू, राम मादेन र सरस्वता सिङ्गक सदस्य रहेको वार्ता टोली गठन गरेको जनाएको छ ।