काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान सरकार अहिले पनि भ्रष्टाचार र भ्रष्टाचारी संरक्षणमै लागिरहेको आरोप लगाएको छ। शुक्रवारको प्रतिनिधिसभामा अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो अरोप लगाएका हुन्।
विपक्षीहरूको दबाबपछि संसद् आह्वान गरिको बताउँदै बैठकको प्रारम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनाएका सरकारको उपलब्धि नियमित काम मात्रै भएको बताए। उनले सरकारले आशा जगाउने एउटा पनि काम गर्न नसकेको बताए।
‘बैठकको सुरुमा उहाँ(प्रधानमन्त्री)ले जुन उपलब्धि सुनाउनुभयो। सुरुङ्मार्गको ब्रेक थु, बंगलादेशसँग विद्युत् व्यापार सम्झौता भयोलगयत के के भन्नुभयो’, उनले प्रश्न गरे, ‘तर यो सरकार नभए ती काम हुँदैनथ्यो? कांग्रेस एमाले मिलेर बनेको सरकारको उपलब्धि यही हो ? यसो हो भने मुलुकमा सरकार छैन भने हुन्छ। नियमित कुरालाई पनि आफ्नो उपलब्धि भन्ने? सुशासनको क्षेत्रमा के गर् ? आशा जगाउने काम के गर्यो ? अर्थतन्त्रमा के सुधार गर्यो ? यी सबै हेर्दा गएको ६ महिना यो सरकारको निराशाजनक काम छ। यो सरकार अहिले पनि भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमै लागिरहेको छ।’
अध्यक्ष लिङ्देनले रास्वपा सभापतिलाई ८४ दिन हिरासतमा राखिएको तर त्यही प्रकृतिको मुद्दामा कांग्रेस एमालेका नेताहरूलाई भने उन्मुक्ति दिइएको भन्दै आपत्ति जनाए। ‘एउटा पार्टीको सभापति ८४ दिन हिारसतमा बस्नुभयो। रवि लामिछानेले बदमासी नै गर्नु भएको छैन त म भन्दिन किन भने त्यो न्याय निरुपणको कुरा छ’, उनले भने, ‘त्यही प्रकृतिको मुद्दामा तपाईँहरूको पार्टीको मान्छेले चाहिँ एक दिन पनि हिरात बस्नु नपर्ने? कानुन त बराबर लाग्नुपर्छ होला नि त सबैलाई?’