काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनको विषयभित्र देश दुर्घटनातिर जाने खतरा लुकेको बताएका छन् ।
आज (मंगलबार) काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले मजदुर, किसान, उत्पीडित वर्ग, समुदायको हक, अधिकार खोस्नेगरी संविधान संशोधन गर्न खोजेको उनले बताए। सरकारको त्यस्तो कदम आफूहरुलाई स्वीकार्य नहुने प्रचण्डले बताए ।
‘दुर्घटनाको खतरा त्यहीँ अन्तरनिहित छ । संविधान संशोधनको कुरा जे विषयमा भनिएको छ, दुर्घटनाको खतरा त्यसैभित्र छ। संविधान संशोधन यो देशका मजदुर, किसान, उत्पीडित वर्ग, समुदायको हक, अधिकार बढाउनका लागि होईन, त्यो खोस्न खोजिरहेका छन्। यो समजवादी मोर्चाले विकल्प दिनेगरी नजाने हो भने खतरा छ,’– उनले भने।
साथै, प्रचण्डले वर्तमान सरकारले अध्यादेशमार्फत प्रतिगमनको पाइला सुरु गरेको बताए। उनले अध्यादेश अलोकतान्त्रिक र निरङ्कुश तरिकाबाट ल्याइएको दाबी गरे ।
‘अध्यादेश पनि बडो अलोकतान्त्रिक र निरङ्कुश तरिकाले ल्याइएको छ। आफैंले भन्ने गरेको मान्यता विपरीत, सदनमा भएको विधेयक सदनबाट फिर्ता नलिइकन जबरजस्ती अध्यादेश ल्याउने जो काम भएको छ, यो स्वैच्छाचारी र निरङ्कुश छ। यो प्रतिगमनतिरको यात्राको पाइलाहरु नै हो भन्ने महशुस गरेर हामीले तुरुन्तै सदन बोलाइँदैन भने हामी विशेष अधिवेशन बोलाउन बाध्य छौं भनेपछि मात्रै सरकारले सदन बोलाएको छ,’ प्रचण्डले भने ।
वर्तमान सरकार आफैंमा अप्राकृतिक र अलोकतान्त्रिक रहेको दोहोर्याए । गएको छ महिनामा सरकारको क्रियाकलापबाट पनि यो अलोकतान्त्रिक र अप्राकृतिक रहेको पुष्टि हुने प्रचण्डको भनाइ छ । अब समाजवादी मोर्चा देशको राजनीतिक विकल्पको रुपमा आउनै पर्ने उनले बताए ।
‘यो सरकार आफैंमा अप्राकृतिक छ, अलोकतान्त्रिक छ । यो गलत उद्देश्यले बनेको छ, गएका छ महिनामा उसले गरेको क्रियाकलापले त्या देखाएको पनि छ । अब समाजवादी मोर्चा देशको राजनीतिक विकल्पको रुपमा आउनै पर्ने भएको छ । हामीले जुन रणनीतिक उद्देश्य, समाजवादी विकल्पकको कुरा गरेका छौं, हामीहरु जागरुक नहुने हो भने देश नराम्रो अवस्थातिर जान सक्छ,’– प्रचण्डले भने ।